नेताहरूलाई जनताका पक्षमा दृढ रही आन्दोलित गराई राख्न युवा विद्यार्थीले प्रेरित गर्नुपर्छः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतालाई जनताका पक्षमा दृढ रही आन्दोलित गराई राख्न युवा विद्यार्थीले प्रेरित गर्नुपर्ने बताउनुभएको छ । ५ दलीय गठबन्धनका विद्यार्थी संगठनका अध्यक्षहरुसँग भेट गर्दै अध्यक्ष प्रचण्डले विद्यार्थीहरुले परिस्थितिको सही मुल्याङ्कन गर्दा युवाहरुमा सही कुराको सम्प्रेषण हुने बताउनुभयो । अध्यक्षले केपी ओली र आफूहरु कुनै पनि कोणबाट उस्तै नभएको स्पष्ट गर्दै यसका लागि विगतदेखिका नेपाली इतिहासका तथ्य र प्रमाणहरुले प्रष्ट गरेको बताउनुभयो ।


उहाँले भन्नुभयो, “सम्पूर्ण रुपमा आत्मसर्मपण गर्ने केपी ओली र हामी त्यसका विरुद्ध विद्रोह गर्ने उस्तै हुनै सक्दैन । २०१७ साल तिर रायामाझीले सामन्तका पक्षमा लागे भने पुष्पलाल जनताको अधिकारका लागि लडे । दुबैलाई उस्तै भन्ने त ?” विद्यार्थीको प्रतिगमन विरोधी आन्दोलनमा आफूहरुको पूर्ण समर्थन रहेको दोहो-याउँदै अध्यक्षले नेपाली जनतालाई आफ्नो सर्वभौम अधिकार प्रयोग गर्न नदिने डिजाइनको खल पात्र केपी ओली बनाइएको बताउनुभयो । उहाँले चारैतिर घेरामा ओली परेको बताउनुहुँदै आफूहरु बलियो बन्दै गएको स्पष्ट पार्नुभयो ।

सो अवसरमा विद्यार्थी नेताहरुले केपी ओलीको कुशासनको ठाउँमा सुशासनको अपेक्षा गरेका थिए । यसको लागि नेताहरुको प्रतिवद्धता दिलाउन एक अन्तर्क्रियात्मक कार्यक्रम गर्ने बताउनुभयाे । उहाँहरुले सो कार्यक्रममा सहभागी भइदिन अध्यक्ष प्रचण्डलाई आग्रह पनि गर्नुभयाे । जनतामा भएको निराशालाई आशामा परिणत गर्न नेताहरुबाट सार्वजनिक प्रतिवद्धताका लागि विद्यार्थीहरुको आग्रह थियो ।

केपी ओली भन्दा फरक शैलीमा देश सञ्चालन गर्ने, संविधानको रक्षा गर्ने र जनताको अधिकार सुनिश्चित गर्ने दलहरुको प्रतिवद्धता दिलाउने कार्यक्रमका लागि उनीहरुले सामुहिक निम्तो दिनुभएकाे थियाे । पाँच वटै विद्यार्थी संगठनका अध्यक्षहरुद्वारा हस्ताक्षरित उक्त ज्ञापन पत्रमा नेपालको संविधान को धारा ३१,३३ र३५ ले क्रमशः शिक्षा, रोजगार र स्वास्थ्यको हकलाई मौलिक हकका रुपमा किटानी गरिएको जनताको संविधान प्रदत्त मौलिक हक कार्यान्वयन गर्नुको सट्टा ओली सरकार उल्लो दलाल, कमिशनखोर र माफियाहरुको चङ्गुलमा डुबेर अनाधिका कुण्ठित पार्न उद्धत रहेको जनाउनुभएकाे छ ।

विद्यार्थीहरुले संविधानको रक्षा, लोकतन्त्रको जगर्ने र प्रतिगमनका विरुद्ध पाँच राजनीतिक दलहरु आन्दोलनरत रहेको उल्लेख गर्दै संविधानमा व्यवस्था गरिएको शिक्षा, स्वास्थ्य र रोजगारको मौलिक हकलाई सरकारमा रहँदा नरहँदा हरहालतमा कार्यान्वयन गर्ने सार्वजनिक प्रतिवद्धता जनाउन दलका नेताहरुलाई अनुरोध गर्नुभएकाे छ ।

यसरी राजनीतिक दलका नेताहरुलाई प्रतिवद्धताका लागि आग्रह गर्नेहरुमा नेविसंघका अध्यक्ष राजिब ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका रुपनारायण श्रेष्ठ र अखिल (छैठौं) का बिमल पोखरेल रहनुभएको थियो ।

कात्तिक ६, २०८१ बुधबार ३:३१:३७