नेपाल टेलिभिजनको ३८ औं वार्षिकोत्सवको उपलक्ष्यमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको सम्वोधन

वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नुका साथै कानूनी र व्यवहारिक सुनिश्चितता गर्न प्रतिवद्ध छ । सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्धन र हितका निम्ति सञ्चार माध्यमको व्यावसायिक र संस्थागत विकासका लागि सरकारले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्धन गर्ने सरकारको नीति रहेको छ । आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गरिनेछ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई संस्थागत गर्दै जनताको जीवनस्तर उठाउन सहयोगी माध्यमका रूपमा सूचना तथा सञ्चार प्रणालीको विकास गर्ने नीति लिइनेछ ।

नेपाल टेलिभिजनको ३८ औं वार्षिकोत्सवको उपलक्ष्यमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको सम्वोधन- (१७ माघ २०७९, सिंहदरबार, काठमाडौं)

नेपालको सबैभन्दा जेठो टेलिभिजन नेपाल टेलिभिजनको ३८ औं वार्षिकोत्सवको सुखद् उपलक्ष्यमा टेलिभिजन परिवारका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण स्रोता एवं दर्शक महानुभावहरू, विज्ञापनदाता, परामर्शदाता एवं आम जनसमुदायमा हार्दिक आभार व्यक्त गर्दै निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
३८ वर्षअघि २०४२ सालमा आजकै दिन स्थापित यस टेलिभिजनले आफ्नो प्रसारणका विभिन्न आरोह–अवरोह पार गर्दै देशको सबैभन्दा अग्रणी टेलिभिजनको रूपमा स्थापित मात्र भएको छैन, अपितु संघीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यका रूपमा स्थापित बहुभाषिक, बहुसांस्कृतिक यथार्थ र चरित्रलाई समेत गहिरो गरी आत्मसात गरेको छ । सत्य, तथ्य, निष्पक्ष र आधिकारिक सूचना, समाचार र सामग्रीलाई नेपालभित्र बोलिने मातृभाषाका माध्यमद्वारा सूचनाको पहुँच आम जनतासम्म पु¥याउन टेलिभिजनले खेलेको भूमिका निकै महत्वपूर्ण छ । म यस सकारात्मक र रचनात्मक कार्यको मुक्तकण्ठले प्रशंसा गर्दछु ।

नेपाल टेलिभिजन नेपाल सरकार र नेपाली जनताको आधिकारिक सूचना र समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यम हुनुको नाताले यसले राज्यप्रतिको जिम्मेवारी र नागरिकप्रतिको जवाफदेहितामा आफूलाई अविचलित रूपमा प्रमाणित गरेको छ । राजनीतिक प्रणाली र राज्यको चरित्रमा आएको परिवर्तनअनुरूप टेलिभिजनले पनि आफूलाई परिमार्जन र रूपान्तरण गर्दै अगाडि बढेको तथ्यले टेलिभिजनको भूमिका र महत्वलाई थप प्रमाणित गर्दछ ।

नयाँ संविधान निर्माणसँगै मुलूक संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भएपश्चात् टेलिभिजनले आफ्नो विषयवस्तुको विविधता बिस्तार गरेको छ । कोहलपुर र इटहरीमा प्रादेशिक च्यानल सञ्चालन भइरहेको छ । प्रादेशिक च्यानल बिस्तारको कार्यलाई टेलिभिजनले थप उचाइका साथ आवश्यकता र प्राथमिकताका आधारमा निरन्तरता दिनेछ भन्ने विश्वास लिएको छु । काठमाडौंबाट प्रसारण हुने टेलिभिजनले सबै वर्ग, जाति, लिंग, क्षेत्र र समुदायको इतिहास, भाषा, संस्कृति र आवाज मुखरित गरेको छ । यसरी हेर्दा देशका सबै वर्ग र समुदायले नेपाल टेलिभिजनभित्र आफ्नो अनुहार देख्न सक्छन्, अपनत्वभावको अनुभूति गर्न सक्छन् भन्ने तथ्य स्थापित भएको छ ।

यस वर्षबाट विभिन्न ७ वटा भाषामा समाचार प्रसारणको आरम्भ हुनु थप महत्वपूर्ण छ । यद्यपि, टेलिभिजनले आम नागरिक र दर्शकको अपेक्षाअनुसार थप जिम्मेवार र व्यवसायिक बन्नुपर्ने चुनौती हाम्रासामु विद्यमान छ । यस चुनौतीलाई अवसरमा बदल्न आफ्नो सम्पूर्ण ज्ञान, बुद्धि र विवेक संस्थाको हितमा खर्चिन पनि म नेपाल सरकारको तर्फबाट टेलिभिजनमा कार्यरत व्यवस्थापन, कर्मचारी र सम्पूर्ण सञ्चारकर्मीहरूमा विशेष अपील गर्दछु ।

आजको युग विज्ञान प्रविधिको युग हो । यस युगलाई हामीले “डिजिटल एरा”को रूपमा संश्लेषण गर्न सक्छौँ । चौंथो औद्योगिक क्रान्तिले सम्पूर्ण विश्व एवं मानव जातिको चिन्तन, जीवन र क्रियाकलापमा गुणात्मक बदलाव ल्याइदिएको छ । विश्वमा यस्तो कुनै क्षेत्र, विषय र मुद्दा छैन, जुन सूचना–प्रविधिको पहुँचभन्दा पृथक होस् । डिजिटल प्रविधिको विकासले सामाजिक उत्पादन पद्धतिमा नै गुणात्मक परिवर्तन ल्याइदिएको छ । यस्तो परिस्थितिमा हामीले विज्ञान प्रविधि र मुख्यतः सूचना प्रविधिको विकास र बिस्तारलाई केन्द्रमा राखेर मात्र राष्ट्रको गुरूत्तर कार्यभार पूरा गर्न सक्छौँ । यस कार्यको नेतृत्वकारी भूमिका सरकारी सञ्चारमाध्यमले नै खेल्न सक्छन् र खेल्नुपर्दछ ।

वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नुका साथै कानूनी र व्यवहारिक सुनिश्चितता गर्न प्रतिवद्ध छ । सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्धन र हितका निम्ति सञ्चार माध्यमको व्यावसायिक र संस्थागत विकासका लागि सरकारले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्धन गर्ने सरकारको नीति रहेको छ । आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गरिनेछ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई संस्थागत गर्दै जनताको जीवनस्तर उठाउन सहयोगी माध्यमका रूपमा सूचना तथा सञ्चार प्रणालीको विकास गर्ने नीति लिइनेछ ।

सञ्चारकर्मीहरूको सीप तथा दक्षता अभिवृद्धि र अद्यावधिक गर्न एवं उच्चतम व्यवसायिक अभ्यासका लागि प्रेरित गर्न आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिवद्ध छ । पत्रकार र सबै प्रकारका सञ्चार माध्यमको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूति गरिनेछ । सम्पूर्ण पत्रकारहरूको स्वास्थ्य, दुर्घटना तथा हुलदंगा वा आतंकको बीमाको व्यवस्था गरिनेछ । श्रमजीवी पत्रकारका लागि निर्मित कानूनहरूको प्रभावकारी कार्यान्वयन गर्दै सूचना हक प्रदान गर्ने कुरा राज्यको दायित्वका रूपमा स्थापित गरिनेछ । यसका निम्ति सञ्चारमाध्यम र सञ्चार क्षेत्रमा क्रियाशील महानुभावहरू सकारात्मक र रचनात्मक सहयोग र सहकार्य रहनेछ भन्नेमा म पूर्णतः विश्वस्त छु ।

चुनौतीपूर्ण परिस्थितिमा गठन भएको मेरो नेतृत्वको वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिका तीन प्राथमिकता निर्धारण गरी अगाडि बढिरहेको छ । लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा एवं प्रगतिशील कार्यान्वयन, चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रको सुधार एवं जनसेवा र जनजीविकाका क्षेत्रमा प्रभावकारी कार्यसम्पादन वर्तमान सरकारको प्रमुख कार्यभार रहेको छ । सरकारको यस कार्यभारलाई गम्भीरतापूर्वक ग्रहण गर्न, आम स्रोता र दर्शकसम्म व्यवस्थित रूपमा सम्प्रेषण गर्न म नेपाल टेलिभिजन परिवारको ध्यान आकृष्ट गर्दछु ।

अन्त्यमा, नेपाली भाषा, कला, संस्कृति र पहिचान विश्वव्यापी रूपमा स्थापित गर्न सफल भएकोमा नेपाल टेलिभिजन परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछु । टेलिभिजनले आगामी दिनमा व्यवसायिक दक्षतामा अभिवृद्धि गर्दै थप अत्याधुनिक, द्रूत र व्यवस्थित सेवा प्रवाह गर्नेछ भन्ने विश्वासका साथ वार्षिकोत्सव समारोहमा सम्मानित कर्मचारीहरू, समाचारदाताहरूप्रति हार्दिक बधाइ व्यक्त गर्दछु । टेलिभिजनको सर्वोपरि हितका निम्ति योगदान गर्नुहुने विज्ञापनदाता लगायत समस्त महानुभावहरूमा धन्यवाद व्यक्त गर्दछु, धन्यवाद ।

असोज ४, २०८१ शुक्रबार २२:२५:५८