नेपाल राष्ट्रको आवश्यकता, नेपाली जनताको चाहना विकास र समृद्धिको हाेः अध्यक्ष प्रचण्ड

काठमाडौं, ९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक आन्दोलन र कम्युनिष्ट आन्दोलनको इतिहास धेरै उतारचढावहरुले भरिएको बताउनुभएकाे छ । आज आयोजित एक पार्टी प्रवेश कार्यक्रमको सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएकाे हाे ।

उहाँले भन्नेनुभयाे, ‘धेरै तिता मिठा अनुभवहरु यसभित्र संगालिएका छन्। २००६ सालमा पार्टी गठन भएदेखि, २०१९ सालदेखि पार्टी विभाजनको श्रृखला तिर जान थालेदेखि अहिले फेरि पार्टी एकताको नयाँ प्रक्रियाको थालनीसम्म आउँदा धेरै नै अनुभव नेपालमा हामीले संगालेका छौं।’

उहाँले ती अनुभवहरुको संश्लेषण गर्दै एउटा बलियो केन्द्रको निर्माणका लागि पार्टी एकता गरेको बताउनुभयाे । अध्यक्षले भन्नुभयाे, ‘हामी यो अहिलेको राजनीतिक परिवर्तनको निम्ति संघिय लोकतान्त्रिक गणतन्त्रको संविधान निमार्णको निम्ति धेरै शक्तिसँग धेरै किसिमका सहकार्य, बहस र संघर्षबाट गुज्रिएका छौं। र अहिले नेपाल राष्ट्रको आवश्यकता, नेपाली जनताको चाहना विकास र समृद्धिको चाहना र नयाँ तरिकाले समाजवादको आधार निमार्ण गर्ने ऐतिहासिक आवश्यकतालाई समेत मध्यनजर गर्दै हामीले कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने पहल थालेका छौं।’

पार्टी एकताको काम आफैंमा धेरै ठूलो काम धेरै चुनौतिपूर्ण छ। नेपालका सम्पूर्ण कम्युनिष्ट समर्थकहरु, कम्युनिष्टहरु र नेपाली जनताले एकताबाट ठूलो आशा र अपेक्षा गरेको भन्दै अध्यक्ष प्रचण्डले जनताका ती आशा र अपेक्षा पूरा गर्नको लागि सदैव लागि पर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयाे।

उहाँले एकताको मिसन अझै पूरा नभएको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘मलाई लाग्छ यो एकताको मिसन अझै पूरा भएको छैन । अझै हामीले सम्पूर्ण कम्युनिष्टहरुलाई एकताबद्ध गर्ने, यहाँका सबै क्षेत्र र समुदायलाई एकताबद्ध गर्ने र विकास र समृद्धिको नयाँ अभियानद्धारा समाजवादको आधार तयार गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा छ। त्यसको निम्ति बाँकी रहेका साथीहरु पनि सबै यहाँ जोडिन आवश्यक छ।’

उहाँले कार्यक्रममा पार्टी प्रवेश गर्नेहरुलाई बधाई दिँदै भन्नुभयाे, ‘तपाईंहरु ब्युँझनु भयो, आउनुभयो । अब केही साथीहरु ब्युँझन बाँकी छन्। उहाँहरु पनि ब्युँझनुपर्ने हुन्छ उहाँहरु पनि आउनुपर्ने हुन्छ । र मलाई लाग्छ ढिलो छिटो उहाँहरु पनि आउनुहुन्छ ।’

उहाँले कम्युनिष्टको नाममा हिजो काम गरेका र जिवनको सबै भन्दा उर्वर समय कम्युनिष्ट आन्दोलनलाई दिएका मान्छेहरुलाई अन्त गएर चैन हुन्छ भन्ने नलागेको बताउनुभयाे। अभिभावकको नाताले विहान रिसाएर गएका आफ्ना सन्तानहरुलाई साझँ आउँदा सबै भन्दा खुशी आमाबुवालाई हुने भन्दै उहाँले एकताले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न, बलियो पार्टी निमार्ण गर्न र राष्ट्रलाई एकताबद्ध गर्न आवश्यक ठानेर आउने साथीहरुलाई आफूले जहिले पनि हार्दिकताका साथ स्वागत गर्ने गरेको स्पष्ट पार्नुभयाे। उहाँले भन्नुभयाे, ‘सानो चित्त र सानो मनले राष्ट्रको र विश्वको नेतृत्व हुन सक्दैन । त्यसैले तपाईंहरु पनि निश्चिन्त रहनुहोला, जिम्मेवारी दिने कुरामा कुनै खालको संकीर्णतालाई ठाउँ दिइने छैन ।’

कार्यक्रममा गोरखा–काठमाडौं संयन्त्र संयोजक विश्वनाथ अधिकारी, केन्द्रीय परिषद् सदस्य भिम श्रेष्ठ, केन्द्रीय परिषद् सदस्य तथा प्रचारप्रसार विभाग सदस्य कृष्ण घिमिरे, केन्द्रीय परिषद् सदस्य तथा महिला शक्ति नेपालका केन्द्रीय सदस्य ज्ञानधरी कैनी, नैसर्गिक विद्यार्थी केन्द्रीय सदस्य ज्ञानहरि पराजुली लगायतले पार्टी प्रवेश गर्नुभएकाे थियाे ।

कात्तिक ८, २०८१ बिहीबार ८:१०:२४