नेपालको कम्युनिष्ट आन्दोलनमा विचारको खडेरी पर्दै गएको छः अध्यक्ष प्रचण्ड (भिडियाे)

काठमाडौ । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्रेड युनियन आन्दोलन विश्वमा दुई कित्तामा उभिएको बताउनु भएको छ । ‘ट्रेड युनियन विश्वभर दुई कित्तामा उभिएको छ’ मे दिवसको सन्दर्भमा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘एउटाले पुँजीवादीको पक्षमा लागेको छ, मजदुरको हकहित गर्ने नाममा घुमाउरो पाराले पुँजीवादीहरुको हकहित गरिरहेको छ । त्यस्तै अर्को पक्ष समाजवादीको पक्षमा छ । ट्रेड युनियनले मजदुरको हित गर्ने हो भने पुँजीवादी पक्षमा लाग्ने होइन, आन्दोलनले समाजवादी कित्ता पक्रिनुपर्छ ।’

उहाँले कम्युनिस्ट आन्दोलनमा देखिएको वैचारिक स्खलनले मजदुर आन्दोलनलाई पनि असर गरिरहेको उल्लेख गर्नुभयो । अध्यक्ष प्रचण्डले नेपालको कम्युनिष्ट आन्दोलनमा विचारको खडेरी पर्दै गएको बताउनुभयो । उहाँले वैचारिक बहसमा केन्द्रित नभए नेपालको कम्युनिष्ट आन्दोलन गम्भीर दुर्घटनामा फस्ने सम्भावना पनि औंल्याए ।

कार्यक्रममा उहाँले मजदुरहरुलाई पनि समाजवादी कित्ताको पक्षमा उभिएर अघि बढ्न आह्वान गर्नुभयो । अध्यक्ष प्रचण्डले विश्वमा ठूलाठूला आन्दोलन, क्रान्ति र परिवर्तन विचारको बलमा भएको उल्लेख गर्दै नेपालमा पनि समाजवादको आधार निर्माण हुने गरी विचारको बहसलाई अघि बढाउन जरुरी रहेको टिप्पणी गर्नुभयाे। समाजवादको आधार तयार पार्न सोही अनुसारको पार्टी संगठन, विचार, कार्यशैली र संरचनाको सुधारमा सबैले जोड दिनुपर्ने उहाँको सुझाव थियाे।

 

कात्तिक ७, २०८१ बुधबार ९:६:४६