नेपालको जनवादी क्रान्ति मौलिक ढंगले पूरा भएको छः अध्यक्ष प्रचण्ड (भिडियाे)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले नेपालको जनवादी क्रान्ति मौलिक ढंगले पूरा भएको बताउनु भएको छ । ४१ औं पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल प्रतिष्ठानले आज कीर्तिपुरको चम्पादेवीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

अध्यक्ष प्रचण्डले पार्टी एकता गरेर नेतृत्वलाई अझ परिपक्व बनाउने ठाउँमा आफुहरु आईपुगेको स्पष्ट पार्नुभयो । पार्टी एकता निक्कै सुझबुझपूर्ण निर्णयका आधारमा गरिएको उहाँकाे भनाई थियाे । स्पष्ट विचार, राजनीति, विधि पद्धतिका आधारमा संगठनको निर्माण, कम्युनिष्ट मूल्य मान्यताका आधारमा कम्युनिष्ट पार्टीलाई अझ एकताबद्ध बनाएर लैजाने काममा सबै लाग्नुपर्नेमा अध्यक्ष प्रचण्डको जोड थियो । उहाँले भन्नुभयाे, ‘एक वर्षमा पार्टी एकता ढिलो भयो, लाखौँ नेता कार्यकर्ताको काम गर्ने सकारात्मक वातावरण बनेन भन्ने जुन चिन्ता थियो, त्यो चिन्तालाई दूर गर्ने, कार्यकर्तालाई आमूल रुपमा उत्साहित गर्ने र सरकारका कामलाई सुशासन र विकासको मोडल प्रस्तुत गर्ने उद्देश्यका साथ जानुछ।’

अहिलेका कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता पुष्पलालका सन्तान र उत्तराधिकारी भएको अध्यक्षको भनाई थियो । अध्यक्ष प्रचण्डले विभाजन भएको पार्टीलाई एकताबद्ध गर्ने र शसस्त्र किसान संर्घष मार्फत जनवादी क्रान्ति पूरा गर्ने पुष्पलालको योगदानको चर्चा गर्दै पुष्पलालको सोच अनुसारकै विभाजित कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाएर उत्तराधिकारी बन्ने काम गरेको बताउनुभयो ।

पार्टी एकताका काम करिव निष्कर्षतिर पुगेको भन्दै उहाँले अब केही बाँकी रहेका कामलाई औपचारिकता दिन मात्र बाँकी रहेको बताउनुभयो । एकताको काम सक्ने बित्तिकै स्थायी समिति र केन्द्रीय समितिको बैठक बसेर देशब्यापी अभियानमा जाने पनि अध्यक्ष प्रचण्डको भनाई थियो । उहाँले भन्नुभयो, ‘कार्यकर्तालाई, जनतालाई उत्साहित गर्ने गरी र सुशासन र विकासको एउटा मोडेल प्रस्तुत गर्ने गरी अब पार्टीले अभियान चलाउँछ ।’

माघ ६, २०८१ आइतबार १८:१५:२१