नेपालको शान्ति प्रक्रिया माओवाद र गान्धिवाद बीचको नयाँ प्रयोग, ‘प्रधानमन्त्री’

असोज १६, काठमाडौं । प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति प्रक्रिया माओवाद र गान्धिवादको बीचबाट आएको नयाँ र मौलिक प्रयोग भएको बताउनु भएको छ ।
आइतबार महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानद्वारा आयोजित शान्ति र राजनीतिक स्थायित्वका लागि आर्थिक समृद्धि विषयक विचार गोष्ठीमा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘गान्धिवाद एउटा सोंच हो, दृष्टिकोण, दर्शन र आदर्श हो । त्यस्तै माओवादी पनि एउटा आलोक, सोंच, दृष्टिकोण, दर्शन र आदर्श हो । हामीले नेपालमा माओवाद र गान्धिवादको बीचबाट एउटा नयाँ र मौलिक प्रयोग गरेर शान्ति प्रक्रियामा आयौं । यो नेपालका लागि मात्रै नभएर विश्व इतिहास र राजनीतिका लागि अनुकरणीय प्रयोग र सिद्धान्त बन्न सक्छ ।’
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘जसले युद्धको मर्म बुझेको हुन्छ, शान्तिको मर्म र गहिराई पनि त्यसैले बुझेको हुन्छ । अशोक सम्राट युद्धका नायक थिए, पछि उनैले शान्तिको आवश्यकता बोध गरें र बुद्ध दर्शनका पक्षपोषण गरे । नेपालमा हामीले माओवादको आदर्श पछ्यायौं र जनयुद्ध ग-यौं । नेपाली कांग्रेसले गान्धिवादको पक्ष लियौं । अन्ततः गीरिजाबाबु र म मिलेर शान्ति प्रक्रियामा हस्ताक्षर ग-यौं र नेपाली राजनीति नितान्त मौलिक र नयाँ मोडमा आयो । यसलाई कसैले पनि सामान्य अर्थमा लिनु हुँदैन ।’
प्रधानमन्त्रीले थप्नुभयो, ‘हामी नयाँ प्रयोगमै छौं । हाम्रो प्रयोग संस्थागत भइसकेको छैन । यो दुर्घटना पनि हुन सक्छ । हाम्रो राजनीतिक प्रयोगका जोखिमहरु कायमै छन् । तर, यसलाई सफलतापूर्वक गन्तव्यमा पु-याउन सक्दा यो विश्वकै लागि अनुकरणीय हुन सक्छ । नेपालका बुद्धिजीवी मित्रहरुलाई माओवाद र गान्धिवादको बीचबाट नेपालमा भइरहेको नयाँ प्रयोगको अध्ययन, सैद्धान्तिकरण र दार्शनिकीकरण गरी विश्वस्तरमा स्थापित गर्न म विशेष अनुरोध गर्छु ।’
कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले गान्धिवाद विश्वव्यापी स्थापित दर्शन भएको बताउँदै विश्वमा गान्धिवादको प्रयोग जरुरी रहेको बताउनुभयो । सो अवसरमा नेपालका लागि भारतीय राजदूत रञ्जित राय, बुद्धिजीवीहरु किशोर नेपाल, गोविन्द पोखरेल, होमनाथ दाहाल, रामचन्द्र प्रधान, पुरुषोत्तम दाहाल लगायतले नेपालको लोकतान्त्रिक आन्दोलन र समसामयिक राजनीतिबारे आफ्नो विचार राख्नुभएको थियो ।

_DSC8595_DSC8603

कात्तिक ७, २०८१ बुधबार २०:१९:२७