नेपालमा लगानीका लागि उत्साहजनक वातावरण तयार छः अध्यक्ष प्रचण्ड

बुटवल । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानीका लागि उत्साहजनक वातावरण तयार भएको बताउनुभएकाे छ। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले लगानीमैत्री वातावरण बनिसकेको बताउनुभएकाे हाे।

‘लगानीको निम्ति भौगोलिक र अन्य सबै हिसाबले पनि वातावरण बनेको छ, उहाँले भन्नुभयाे, ‘लगानी भित्र्याएर मुलुकलाई समृद्ध बनाउने ऐतिहासिक कार्यभार हामीमाझ आएको छ, यसलाई हामीले उचित ढंगले काम गर्नसक्नुपर्छ।’

अध्यक्षले शैली र संस्कार बदल्न सबैले मेहनत गर्नै पर्ने बताउनुहुँदै नेपालमा जनता, कार्यकर्ता र नेताले अान्दाेलनबाट परिवर्तन गर्ने तर केही वर्षमा पुरानाे संरचना जस्तै भुत्ते बनाउने गरेकाे बताउनुभयाे ।

‘जनता, पार्टी, नेता कार्यकर्ताहरूले आन्दोलन गर्ने राजनीतिक परिवर्तनका ठूल्ठूला घोषणा गर्ने तर केही वर्षपछि नेताहरूलाई पूरानो संरचनाहरूले विस्तारै भुत्ते बनाउँदै लैजाने गरेका छन्,’ अध्यक्ष प्रचण्डले भन्नुभयाे, ‘राणा शासनका हाकिम/बडाहाकिम थिए, आन्दोलनपछिका नेताहरू पनि बिस्तारै बडाहाकिमजस्ता हुने गरेका छन्।’

अध्यक्ष प्रचण्डले गणतन्त्र ल्याउन भूमिका खेल्ने एक पात्र आफू पनि भएको उल्लेख गर्दै यो व्यवस्था असफल हुँदा सबैभन्दा धेरै दोष आफूलाई आउने बताउनुभयाे । अध्यक्षले विगतमा निरकुंश व्यवस्थाका कारण मुलुक आर्थिक रुपमा कमजोर भएपनि अब भने समृद्धितर्फ जाने निश्चित रहेको उहाँको भनाई थियो । उहाँले अहिले नेपालमा लगानीको वातावरण रहेको र लगानीकर्ताले पर्याप्त नाफा कमाउन सक्ने अवस्था रहेको बताउनुभयाे ।

अध्यक्ष प्रचण्डले शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा अत्याधिक पर्यटनको सम्भावना रहेको भन्दै त्यसका लागि पूर्वाधारको जरुरी रहेको र केही पूर्वाधार तयार भइसकेको पनि बताउनुभयाे ।

कात्तिक ८, २०८१ शुक्रबार ४:१८:४१