पत्रकार महासंघको टोलीद्वारा प्रधानमन्त्रीलाई सम्मान

श्रावण २५, काठमाडौं ।नेपाल पत्रकार महासंघको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा महासंघले नयाँ सरकार राजनीतिक स्थिरता र आर्थिक समृद्धिको जग बसाल्न सफल हुने विश्वास व्यक्त गरेको थियो । भेटका अवसरमा महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले पत्रकार र सञ्चार जगतसँग सम्बन्धित विभिन्न समस्याहरुबारे प्रधानमन्त्रीलाई अवगत गराउनुभएको थियो ।
जवाफमा प्रधानमन्त्रीले परिवर्तनको प्रक्रियामा सञ्चार जगत र सञ्चारकर्मीको निकै महत्वपूर्ण रहेको भन्दै संक्रमणकालको निकासका लागि पनि सञ्चार जगतले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले संविधानको परिमार्जन र कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, भूकम्पको पूनर्निर्माण र नवनिर्माण, प्रभावकारी जनसेवा एवं सुशासन र समृद्धि नयाँ सरकारका प्राथमिकता भएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘सरकार आफ्नो प्राथमिकतामा स्पष्ट छ । यहाँहरुको सकारात्मक र रचनात्मक सहयोगको अपेक्षा गर्दछु ।’ प्रधानमन्त्रीले आफू श्रमजीवीकै पक्षमा संघर्ष गर्दै आएको नाताले श्रमजीवी पत्रकारहरुका मागबारे आफू संवेदनशील भएको पनि जानकारी गराउनुभयो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले व्यक्त गर्नुभएको मन्तव्यका मूख्य बुंदा :
– संविधानको स्वीकार्यता बढाएर कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, भूकम्पको पूनर्निर्माण र नवनिर्माण, प्रभावकारी जनसेवा एवं सुशासन र आर्थिक समृद्धि नै सरकारका मूख्य प्राथमिकता हुन् ।
– संविधान कार्यान्वयनका लागि देशका सबै राजनीतिक दल र भावनालाई एकतावद्ध गर्नैपर्छ । सबै समुदायको एकता कायम गर्न सकिएन भने संविधान कार्यान्वयन हुँदैन । संविधान कार्यान्यवनका लागि आन्तरिक राष्ट्रिय एकता अपरिहार्य छ ।
– हामीले सुरुदेखि नै राष्ट्रिय सहमति खोजेका हौं । संविधानपछि दुई ठूला दलहरुबीचको विभेदले सहमति हुन सकेन । यसपटक सहमतिको प्रयत्न गरेपनि हामी सफल भइसकेका छैनौं । सहमति निर्माणका लागि अन्तिमसम्म लाग्नेछौं र सफल हुनेछौं ।
– सेना समायोजन र हतियार व्यवस्थापन भएपनि युद्धसँग सम्बन्धित मुद्धाहरु अझै टुंगिएका छैनन् । द्धन्द्धका मुद्धाहरुले देशमा नयाँ समस्या पैदा गर्ने हो कि ? यसलाई कसरी दीर्घकालीन समाधान गर्ने भन्नेमा हामी गम्भीर छौं ।
– पूनर्निर्माण र नवनिर्माण देशको प्राथमिकता हो । विगतमा यसका केही काम भए । तर, गति असाध्यै धिमा भयो । भूकम्प पीडितलाई राहतको अनुभूति हुने गरी नयाँ सरकारले काम गर्नेछ ।
– पत्रकार र सञ्चार जगतले परिवर्तनमा गरेको योगदान सकरात्मक र अनुकरणीय छ । युद्धका बेला कतिपय दुर्घटनाहरु पनि भए होलान् । तर, मूलभूत रुपमा पत्रकार जगतले राम्रै भूमिका खेलेको छ । हामी संक्रमणकालको अन्त्यतिर जाँदैछौं । यसको सुरक्षित अवतरणका लागि पनि सञ्चार जगत र पत्रकारको महत्वपूर्ण भूमिका छ भन्ने ठान्छु ।
– आफ्ना एजेण्डा र धरातलबारे अलि गम्भीर हुन खोजेको छु । गरीबका लागि सरकार भनेको श्रमजीवीका लागि सरकार भन्ने हो । यसको महत्वलाई सञ्चारकर्मी साथीहरुले अन्तर्यमा गएर बुझिदिनु हुनेछ भन्ने विश्वास लिएको छु ।

कात्तिक ७, २०८१ बुधबार १७:१०:१५