पार्टी एकता संयोजन समितिको बैठक सम्पन्न

काठमाडौं, २५ पुस । पार्टी एकता गर्न माओवादी केन्द्र र एमालेका शीर्ष नेता सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक मंगलबार सम्पन्न भएको छ ।
एमाले अध्यक्ष ओली निवास बालकोटमा बसेको बैठकमा पार्टी एकता र समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको थियो । बैठकले पार्टी एकतामा कुनै विवाद र बिमति नरहेको भन्दै छिट्टै पार्टी एकता प्रक्रिया टुङ्गाउने निष्कर्ष निकालेको छ । बैठकले पार्टी एकता हुँदैन कि भनेर कल्पना पनि नगर्न कार्यकर्ता र जनतालाई अपील गरेको छ ।
बैठकले प्रतिनिधि सभाको पूर्णता, राष्ट्रिय सभाको गठन र प्रदेश सरकार गठनका लागि गृहकार्य गर्न ६ सदस्यीय संयुक्त कार्यदल गठन गरेको छ । कार्यदलमा एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा ‘बादल’, वर्षामान पुन र मातृका यादव रहनुभएको छ ।
आजको बैठकमा पार्टी एकताका लागि वैचारिक र सांगठानिक कार्यदल गठन गर्ने कार्यसूचि रहे पनि थप गृहकार्य गरेर अर्को बैठकमा कार्यदल गठन गर्ने समझदारी भएको छ । एमाले अध्यक्ष ओली स्वास्थ्य उपचारबाट फर्किएपछि एकता संयोजन समितिको बैठक बस्नेछ ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’ र ईश्वर पोखरेल सहभागी हुनुहुन्थ्यो ।

कात्तिक ९, २०८१ शनिबार २:१४:२७