पार्टी भनेको विचार, विधि र पद्दतिको संयोजन होः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भनेको विचार, विधि र पद्दतिको संयोजन भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “पार्टी भनेको बिचार र विधि हो । विचार मात्रैले पनि पार्टी बन्दैन र विधि मात्रैले पनि पार्टी बन्दैन । अझ कम्युनिष्ट पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन हो ।”

उहाँले पार्टीमा उत्पन्न समस्याको समाधानका लागि विचार र विधिमा एकरुपता कायम गर्ने कोशिसमा आफूहरु रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पार्टीमा अहिले यही प्रयास चलेको छ । पार्टीलाई कसरी एकतावद्ध गर्ने भन्ने छलफल गरिरहेका छौं । पार्टीलाई कसरी गति दिने भनेर छलफल गर्दैछौं तर तर देशभरि जुलुस भएको छ मूर्दावाद र जिन्दावादका नारा लगाइएको छ । देशभरिबाट नेता तथा कार्यकर्ताले के गर्ने भनेर सोध्दा मैले धैर्य लिन भनेको छौं र पार्टी एकताको पक्षमा उभिन आग्रह गरेको छौं ।

पार्टी सामान्य स्थितिमा नभई संकटमा रहेको उहाँको भनाई थियो । पार्टी एकताका लागि आफूहरुले केही आधारहरु बनाएको उल्लेख गर्दै सबैभन्दा पहिले वैचारिक राजनैतिक आधार बनाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “वैचारिक राजनैतिक आधारमा हामीले मार्क्सवाद– लेनिनवादलाई पार्टीको निर्देशक सिद्धान्तका रुपमा हामीले सर्वसम्मतले मानेका छौं । हामीले राजनीतिक कार्यदिशाको रुपमा जनताको बहुदलीय जनवाद, २१ औं शताब्दीमा जनवाद र माओवाद सम्बन्धित मान्यतालाई अबको चरणमा विकसित र परिमार्जित गर्नुपर्छ भनेर समाजवाद उन्मुख जनताको जनवादलाई अहिलेको कार्यदिशा भन्यौं तर तपाई हामीले अहिले हेर्यौं भने अहिले हामीहरु पछाडि फर्केन खोजेका संकेतहरु देखिन थालेका छन् ।”

“हामीले सामूहिक जिम्मेवारी लियौं कि लिएनौं भन्ने कुरा हेर्दा २ वर्षसम्म केन्द्रीय समितिको बैठक गर्न सकेनौं,’ उनले भने, ‘समस्या आउँदा सामूहिक छलफल गर्ने र त्यसबाट आउने निचोडलाई कार्यान्वयन गर्ने हाम्रो पद्धति खल्बलिएको छ । बैठक नै नबसेपछि सामूहिक निर्णय भन्ने कुरै भएन ।”

उहाँले पार्टी भनेको विवेक र सरकार भनेको सत्ता रहेको बताउनुभयाे । उहाँले भन्नुभयाे, “विवेकले सत्ताको नेतृत्व गर्नुपर्छ,” उनले भने, “पार्टीले सरकारको नेतृत्व गर्नुपर्छ । सत्ताले पार्टीमाथि हैकम चलाउने काम गर्‍यो भने त्यो गैरवैज्ञानिक हो । दुई वर्ष हेर्‍यौं भने सरकारले पार्टी चलाउने काम भएको हो कि भन्ने देखिन्छ ।”

“बाहिर पदको निम्ति पो हो कि भन्ने देखिएको छ, त्यो सच्याउन पर्ने भएको छ,” उहाँले भन्नुभयाे, “समाजवादी अर्थतन्त्र कस्तो हुने, समाजवादी राजनीतिक कस्तो हुने भन्ने बहस हो । यो यही नै बहस हो भनेर आम कार्यकर्तामा लैजान सक्नुपर्थ्यो त्यो सकिएको छैन ।”

उहाँले भन्नुभयाे, “हामी कुनै पनि स्थितिमा पार्टीलाई विभाजनबाट रोक्न अन्तिमसम्म प्रयास गरिरहेका छौं । पार्टीलाई एकतावद्ध राखिनेछ । यो बहसको निष्कर्ष पार्टीमा विचार पनि स्पष्ट भएर आउने छ, विधि पनि स्पष्ट रूपमा पालना गर्ने हिसाबले अघि बढिन्छ । यो बहसबाट अझ खारिएको र एकतावद्ध पार्टीको विकास हुनेछ । हामी सबैले लिनुपर्ने संकल्प यही हो । एकताका निम्ति सही र सचेत ढंगले अघि बढ्न म सबैलाई अपील गर्छु ।”

कात्तिक ७, २०८१ बुधबार १७:५:२६