पार्टीलाई सांगठनीक विधिमा लगेर जनताको पार्टी बनाउन जरुरी छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले पार्टीलाई सांगठनीक विधिमा लगेर जनताको पार्टी बनाउन जरुरी भएकाे बताउनुभएकाे छ । तत्कालिन माओवादी जनयुद्धका क्रममा प्रहरीबाट हत्या गरिएका सुरेश वाग्ले ‘वासु’को २१ औं स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले सरकार र पार्टीबाट केही कमजोरी भए सच्याउन तयार रहेको तर इतिहासका उपलब्धि खोस्न चाहने तत्वलाई भने छूट दिन नसकिने बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘ हामी आजभोलि कहिं न कहिँ पार्टी एकता प्रक्रिया ढिलो भएकोमा चिन्ता, सरकारले प्रभावकारीरुपमा छिटो छिटो काम गरोस भन्ने चिन्ता जताततै सुन्छौं । राम्रा काम गर्न नसकेको होइन, तर जनताको आशा अपेक्षा अनुरुप काम भएन भन्नेतर्फ हाम्रो ध्यान गम्भीररुपमा गएको छ । ‘

उहाँले देशव्यापीरुपमा कार्यक्रम लिएर कार्यकर्ता र जनताको पंक्तिमा जाने अन्तिम तयारीमा रहेकाे जानकारी पनि दिनुभयाे। ‘म कमरेड सुरेश वाग्लेजस्ता महान क्रान्तिकारी योद्दा, विचारक, नैतिक उचाईमा रहेका कमरेडहरुलाई सम्मान गर्दै सबैमा एकताबद्ध हुनुको कुनै विकल्प छैन, जनताको सेवा गर्नुको कुनै विकल्प छैन । कुनै पनि नामका प्रतिक्रियावादी आएर निरंकुशताको जाँतोमा पिस्न दिने काम हामी र जनतालाई स्वीकार्य छैन ।’

अाफूभित्र केही कमजोरी भए सच्च्याउन तयार रहेकाे उहाँकाे भनार्इ थियाे । ‘तर इतिहासको चक्कालाई पछाडि धकेल्ने तर हजारौं जनताको बलिदान र लाखौं कार्यकर्ताको त्यागले प्राप्त गणतन्त्र र समावेशी लोकतन्त्रलाई उल्ट्याउने छूट कुनै पनि हालतमा दिन सकिन्न । त्यो गरेमा मात्रै सुरेश वाग्लेलगायतको साँचो सम्झना गरेको ठहर्नेछ,’ उहाँले भन्नुभयाे । अध्यक्ष प्रचण्डले सुरेश वाग्लेको योगदानको व्याख्या गर्दै वाग्ले वैचारिक र नैतिकरुपमा निकै उच्च व्यक्तित्व रहेको बताउनुभयाे ।

अध्यक्ष प्रचण्डको सम्बोधनको मुख्य अंश :-

“कमरेड बासुका अगाडि हामी सबै झुक्नुपथ्र्यो त्याग र बलिदानको भावनाले पोलिटब्यूरो भन्दा धेरै माथिको योग्यता थियो । कमरेड सुरेश वाग्लेलाई स्मरण र चर्चा गर्ने कुरा धेरै ठूलो जिम्मेवारीको कुरा हो । जनयुद्दको तयारीको बेला महामन्त्री थिएँ, जनयुद्द शुरु भएर त्यो अगाडि बढदै जाँदा जुन परिस्थिति बन्यो, सुरेश वाग्ले त्यस्तो नेतामध्ये हुनुहुन्थ्यो जो पार्टीका सबै वरिष्ठ नेता म, किरण, बाबुराम, बादललगायत हामी बासुका अगाडि नतमस्तक हुन्थ्यौं । बहसहरुमा वहाँ अगाडि सरेपछि सबै झुक्नुपथ्र्यो । बौद्धिक व्यक्तित्व, विचार र निष्ठा तथा राजनीतिक प्रवृत्तिलाई सन्तुलनमा ल्याउने सवालमा र खासगरी चरित्रको नैतिक बल धेरै ठूलो थियो । सबै वरिष्ठ नेताहरुलाई आफ्नो राजनीतिक कुशलताद्वारा प्रभावित पार्न सक्नुहुन्थ्यो । जनयुद्दको तयारीको बेला, जनयुद्द शुरु भइसकेपछि किलो सेरा लगायतका अप्रेसन चलिरहेका बेला, अन्तर्पार्टी वहस र अन्तर्सघंषलाई ठीक ढंगले परिचालन गर्ने कुरामा कमरेड सुरेश अग्रणी भूमिका हुनुहुन्थ्यो । अहिले वहाँको त्यो चरित्र, नैतिक तागत र कम्युनिष्ट आदर्शप्रतिको समर्पण भावलाई एउटा सानो कार्यक्रम या भाषणमा समेटन सकिने जस्तो मलाई लाग्दैन । बाँच्ने मर्ने ठेगान थिएन जनयुद्दमा यदि कमरेड सुरेश जस्ता वैचारिक स्पष्टता, निष्ठा र नैतिक चरित्र भएका मानिस नभएको भए त्यो जनयुद्दका रुपमा युगान्तकारी तागतका रुपमा विकास हुने थिएन । अन्तर्राष्ट्रिय अनुकुल थिएन, देशकै परिस्थिति पनि त्यति धेरै अनुकुल थिएन ।

हामीले तयारी गर्दै गरेको बेला, पञ्चायतबिरोधी आन्दोलन बिस्तारित भइरहेको बेला छापामार युद्द शुरु गर्नुपर्छ भनेर गोर्खाको सिरानचोकमा सुरेश वाग्लेको व्यवस्थापन र सहयोगमा त्यसको आयोजना गरिएको थियो । को बाँचिन्छ, को मरिन्छ ठेगान थिएन । केन्द्रीय समितिको बैठकमा गम्भीर छलफल गरेका थियौं । हामी केन्द्रीय समितिमा १९ जना थियौं, हामी छिटै मारिन्छौं जस्तो लागेको थियो । विद्रोहका आधार त छन तर सांगठनिक तागत र बौद्धिक तागतले राज्यसँग लडेर तुरुन्त जित्न सकिन्छ अनि नेतृत्व सबै बाँचिन्छ नै भन्ने छैन भन्ने परेको थियो । हामीले अलग अलग फोटो खिचेका थियौं । यो अन्तिम बैठक पनि हुनसक्छ भनेर फोटो खिँचेका थियौं । हामीले जम्मा गरेको साधनको जिम्मा पनि सुरेशले नै लिनुभएको थियो । वहाँ बौद्धिक समुदायमा खासगरी शिक्षक समुदायमा असाध्यै व्यक्तिको रुपमा प्रेरणादायी व्यक्तिको रुपमा परिचित हुनुभयो । हत्याले जनयुद्दमा बलिदान गर्न चाहने लर्को २०५६ सालमा वहाँको हत्या भएपछि निकै ठूलो तरंग आयो । त्यो भन्दा अगाडि विद्रोह शुरु गरेपछि १५, १६ सय बढीको मृत्यु भएको थिएन । तर वासुको हत्या निमर्म तरिकाले गरिएको खबर फैलिएपछि विद्यार्थी, बुद्धिजीवि, शिक्षक सबैमा फैलिएपछि माओवादी आन्दोलनमा संलग्न हुने राजनीतिक कार्यकर्ताको संख्या गुणात्मकरुपमा बढ्यो । अहिले कथा जस्तो लागेपनि मर्नका लागि बलिदानका लागि तछाडमछाड हुन थाल्यो ।

मलाई अग्रीम मोर्चामा राखियोस् भन्ने सयौं हजारौं देखा पर्न थाल्यो । त्यसपछि सहीदको संख्या बढेर हजार बढी भयो । हामीले सकेसम्म कम बलिदानबाट यो राजनीतिक आन्दोलन अघि जाओस् भन्ने चाहना राखेका थियौं । तर कमरेड सुरेश र भीमसेनको हत्या भएपछि, सांस्कृतिक आन्दोलनका थुप्रै योद्दा मस्त विष्टदेखि कृष्णसेनसम्म समाजले सबभन्दा राम्रो नागरिक र असल प्रतिनिधिको रुपमा स्वीकार गरेका व्यक्तित्वको लामबन्दी शुरु भयो । त्यो बलिदानका कारण निमोठेर नै सक्ने प्रतिक्रियावादीको सपना पुरा हुन दिएन । यो बलिदानकै बलमा त्यो परिस्थिति सिर्जना भयो । अहिले पनि सबैभन्दा राम्रा मान्छेको मृत्यु हुँदा, मारिँदा या शहीद हुँदा तिनले थुप्रै क्रान्तिकारी जन्माउँदा रहेछौं । यो कुरा हामीले प्रत्यक्ष देख्यौं, भोग्यौं ।

जनयुद्दको अन्तिम तयारीमा हुँदा मधेशमा कमरेड रामवृक्ष यादवको हत्या गर्यो । हामीले जनयुद्द शुरु गरेका थिएनौं तर त्यसले देशैभरी माडसाबको रुपमा परिचित मधेशको होनहार छोरा सबैले मन पराउने पारदर्शी व्यक्तिको हत्या भएपछि मानिसमा बलिदान गर्ने लाइन लाग्दो रहेछ । बहुमतले हुन्न, क्रान्तिकारी पार्टी बनाऔं हामीले कम्युनिष्ट आन्दोलन लोकप्रिय त बनाएको छौं, हामीले अत्यधिक बहुमत प्राप्त गरेर लोकप्रिय मतसहित सरकारको नेतृत्व गर्ने ठाउँमा त पुर्याएका छौं । तर वैचारिक निष्ठाको दृष्टि, वैचारिक स्पष्टताको दृष्टिले, राजनीतिक परिपक्वता, नैतिक चरित्र र आचरणको दृष्टिले हेर्दा हामी निकै खस्किएका छौं मलाई लाग्छ । हामी अलि बढी नै आत्मकेन्द्रीत, व्यक्तिवादी, आदर्शबाट विचलनतिर जान थालेको आभास हुन थालेको छ । यस्तो बेला कमरेड वासुसहित अन्य क्रान्तिकारीलाई स्मरण गर्दैछौं भने यो पार्टीलाई फेरी क्रान्तिकारी, आदर्शपुर्ण बनाउने, यो पार्टीका सबै सदस्य र नेतालाई समाजका सबैले स्वीकार्ने पार्टी बनाउने आवश्यकतामा जोड दिनु जरुरी छ । त्यसो गर्ने संकल्प लिए मात्रै समाजवादी आदर्शतर्फ उन्मुख बनाउन सक्छौं ।

हामीले साँच्चिकै औपचारिक होइन, ह्दयदेखि नै यो पार्टीलाई त्यस्तै बनाउने प्रतिबद्धता गर्यौं, संकल्प गर्यौ भने हजारौं शहीदप्रति सच्चा श्रद्धान्जली गरेको ठहर्छ । हैन भने यो औपचारिकता मात्रै हुने देखिन्छ । सुरेश वाग्ले तत्कालिन माओवादी आन्दोलनको मात्र हुन भन्ने होइन, उनी राष्ट्रकै सम्पत्ति, गौरव र आउने पीढिका लागि गौरवका रुपमा स्थापित गर्ने व्यक्तित्व वहाँ हुनुहुन्थ्यो । यस्तो चरित्रलाई प्रेरणाका रुपमा कसरी अगाडि लैजाने ? वहाँका कैयन लेख छन । कम्युनिष्ट आचरण र विचारसँग सम्बन्धित सामग्री छन् । तिनलाई जनतामा लैजाने आवश्यकता छ । निरंकुशताको जाँतोमा पिस्ने षडयन्त्रलाई छूट दिइन्न अहिले लोकतान्त्रिक गणतन्त्रमा हामी छौं, त्यस्तो महान क्रान्तिकारीको संलग्नता नभएको भए यो परिवर्तन यति छिटो सम्भव थिएन । एकथरिले यो क्रान्तिकारी आन्दोलन र यसको नेतृत्वलाई बदनाम गर्न धेरै तल्लो स्तरमा ओर्लेर गाली गलौज समेत गरिरहेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गर्ने उद्देश्यले आन्दोलनमा प्रदर्शित गरिएको त्याग तपस्या, क्षमता, प्रतिभा र देशका लागि समर्पित गर्ने व्यक्तित्व र आन्दोलनलाई बदनाम गर्ने, हिजोको अत्याचारी निरंकुश सामन्तहरुलाई फेरी अगाडि ल्याउने षडयन्त्रका झिल्का यत्रतत्र देख्न थालिएको छ । यस्तो बेला कमरेड सुरेश, भिमसेन जस्ता व्यक्तिलाई जब हामी सम्झिन्छौं, मलाई अनौठो पनि लाग्छ । यस्तो महान इतिहासलाई अपमानित गर्ने, शहीदको अवमूल्यन गर्ने, त्यसका नेताहरुलाई बदनाम गर्नै नियोजित षडयन्त्रभित्र प्रतिक्रान्तिको गन्ध आउँछ । त्यसैले यस्तो बेलामा पार्टीलाई सांगठनिक विधिमा लगेर जनताको पार्टी बनाउन जरुरी छ । कहिलेकाहिँ सिंहको अगाडि स्याल आएर हल्ला गरेको भरमा स्यालको तुलना सिंहजस्तो गर्न सकिन्न । स्याल स्याल नै रहन्छ, सिंह सिंह नै रहन्छ । “

कात्तिक ८, २०८१ बिहीबार १७:४:६