पिडालाई शक्तिमा बदलेर राष्ट्र र जनताको निम्ति समर्पित छु : प्रचण्ड

काठमाडौँ १८ चैत – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले परिवारको प्रिय सदस्यको बिछोडमा पनि पिडालाई शक्तिमा बदलेर राष्ट्र र जनताको निम्ति समर्पित भएको बताउनुभएको छ । चलचित्र कान्छी को विशेष प्रदर्शन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पिडालाई शक्तिमा बदलेर राष्ट्र र जनताको निम्ति अझ बढी समर्पित गर्ने सङ्कल्प गर्नुभयो ।

‘श्वेता जी ले आफ्नो पिडालाई शक्तिमा बदलेर आफ्नो श्रीमानको सम्झनामा श्वेता श्री फाउण्डेसन खडा गरेर माझी बस्ती बनाउने सामाजिक क्रियाकलामा र चलचित्र द्वारा सामाजिक सन्देश दिने साहस गर्नुभएको छ, उहाँलाई धन्यवाद दिन चाहन्छु’, अध्यक्ष प्रचण्डले भन्नुभयो ‘मैले पनि त्यस्तै आफ्नो उद्धेस्यको निम्ति समर्पित भएर आफ्नो परिवारका प्रिय पात्र परिवारका सदस्यहरूको बिछोडको पिडालाई शक्तिमा बदलेर राष्ट्र र जनताको निम्ति अझ बढी समर्पित गर्ने सङ्कल्प गरेको छु ।’

सामाजिक चलचित्र कान्छीको प्रदर्शनको ४३ औँ दिनको अवसरमा कुमारी हलमा विशेष प्रदर्शनी आयोजना गरिएको थियो । अध्यक्ष प्रचण्डले चलचित्र कान्छी सामाजिक र पारिवारिक चलचित्रको रूपमा रहेको र कथावस्तुमा पनि सामाजिक सन्देश, भावना, द्वन्द लगायतको सबै पक्ष भएकोले उत्कृष्ट रहेको बताउनुभयो ।

विशेष समारोहमा वरिष्ठ डिजाईनर सुन्दर श्रेष्ठलाई अध्यक्ष प्रचण्डले सम्मान गर्नुभएको थियो । चलचित्र सन्तानबाट चलचित्रको प्रचार सामग्री डिजाइन सुरु गरेका श्रेष्ठले अहिलेसम्म १२ सय भन्दा बढी चलचित्र र विभिन्न नोट र सिक्काको समेत डिजाइन गरेको भन्दै काया फिल्म्स ले सम्मान गरेको हो । अध्यक्ष प्रचण्डले श्रेष्ठले कलाको क्षेत्रको माध्यममा राष्ट्रको गौरव अभिबृद्धि गरेकोमा धन्यवाद दिनुभयो ।

कात्तिक ६, २०८१ बुधबार ३:१८:४०