पूर्व मन्त्रीसहित दर्जन नेता माओवादी केन्द्रमा प्रवेश

असोज २७, काठमाडौं । पूर्व राज्यमन्त्री एवं राजपाका केन्द्रीय सदस्य खोवरी रायसहितका १ दर्जन नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नवप्रवेशी नेताहरुलाई पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराउनु भएको थियो ।
शुक्रबार दिउँसो माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेशवादी दलका दर्जन नेता माओवादीमा प्रवेश गरेका हुन् । माओवादीमा प्रवेश गर्ने अन्य नेताहरुमा पूर्वसांसद रासनारायण राय, पूर्व गाबिस अध्यक्ष एवं नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राजदेवी सहनी, पूर्व गाबिस अध्यक्ष तथा राजपाका केन्द्रीय सदस्य किशोरीप्रसाद यादव, राजपाका नेताहरु मनोज प्रसाद यादव, कुन्दन सिंह, राजपाका क्षेत्रीय अध्यक्ष उपेन्द्र राय यादव, राजपा जिल्ला सदस्य प्रदीप साह, नेपाली कांग्रेसका सक्रिय सदस्य श्याम पासवान, भरत पण्डित, कुवार्ण राय, अजयकुमार यादव लगायतका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
माओवादी केन्द्रमा प्रवेश गर्दै पूर्वमन्त्री रायले मधेशको मुक्ति र सिङ्गो देशको एकता कायम राख्न सक्ने एक मात्र शक्ति माओवादी केन्द्र भएकाले आफू पार्टी प्रवेश गरेको बताउनु भयो । अर्का वक्ता किशोरीप्रसाद यादवले देश र मधेशको कुरा गर्ने एक मात्र पार्टी माओवादी केन्द्र भएको बताउनु भयो ।

राष्ट्रिय एकताका आधारमा बाम ध्रुवीकरण, ‘प्रचण्ड’
पूर्वमन्त्री सहितका मधेशकेन्द्रित दलका नेताहरुलाई पार्टी प्रवेश गराउँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता र स्वाधिनताका आधारमा बाम ध्रुवीकरण हुन लागेको बताउनु भयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामी राष्ट्रिय एकताका पक्षमा छौं । हिमाल, पहाड र तराई–मधेशमा बस्ने सबै जनताको पहिचान र अधिकारको पक्षमा छौं । हामीले एमालेसँग चुनावी तालमेल र एकताको तयारी गरेका छौं, राष्ट्रिय एकता र सबैको अधिकारको सवालमा हामी एकमत भएका छौं । संविधानलाई संशोधन र परिमार्जन गर्दै सबैका अधिकार समेट्ने हाम्रो सहमति पनि छ । तसर्थ, हाम्रो एकताको प्रयास राष्ट्रिय एकताका पक्षमा छ, स्वाधीनताका पक्षमा छ, जनताको अधिकारका पक्षमा छ ।’
शुक्रबार नै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित नेपाली जनप्रगतिशील मञ्चको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेपालको आर्थिक तथा सामाजिक विकासमा गैरआवासीय नेपाली संघको महत्वपूर्ण भूमिका हुने बताउनु भयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामी संविधान कार्यान्वयनको असाध्यै महत्वपूर्ण चरणमा छौं । संविधानको कार्यान्वयनसँगै राजनीतिक स्थिरता र आर्थिक विकासमा हाम्रो ध्यान केन्द्रित भएको छ, नेपालको आर्थिक, सामाजिक विकासमा तपाईको महत्वपूर्ण भूमिका छ, उच्च योगदान छ ।’
कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री एवं माओवादी केन्द्रका विदेश विभाग प्रमूख नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, नेता अग्नि सापकोटा लगायतले बोल्नुभएको थियो । गैरआवासीय नेपाली संघको महाधिवेशनको पूर्वसन्ध्यामा माओवादी केन्द्रले जनप्रगतिशील मञ्चको भेलाको आयोजना गरेको हो ।

कात्तिक १०, २०८१ शनिबार १२:२५:३६