पूर्वमन्त्रीसहित कांग्रेस, राजपा, फोरम र चुरेभावरका नेताहरु माओवादी केन्द्रमा प्रवेश

कार्तिक १४, काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता सुरेशचन्द्र दाससहित नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा), संघीय समाजवादी फोरम र चुरेभावर राष्ट्रिय पार्टीका नेताहरु मंगलबार माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
मंगलबार अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र प्रवेश गर्ने नेताहरुमा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता सुरेशचन्द्र दास, राजपाका सर्लाही जिल्ला अध्यक्ष दिनेश राय यादव, क्षेत्रीय अध्यक्ष राजकुमार राय, क्षेत्रीय कोषाध्यक्ष सुरेश राय, संघीय समाजवादी फोरमका क्षेत्रीय अध्यक्ष तेजनारायण राय, संघीय समाजवादी फोरम सिरहा–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष विनोद राय, चुरेभावर राष्ट्रिय पार्टीका अध्यक्ष श्याम श्रेष्ठ, राजपाका नेताहरु नरेश राय, दिनेश चौधरी, सुरेन्द्र महतो, नागेन्द्र राय लगायत रहेका छन् ।
माओवादी केन्द्र प्रवेश गर्दै पूर्वमन्त्री दासले कांग्रेसमा रहँदा आफू गणतन्त्रको पक्षमा भए पनि गणतन्त्रको सपना माओवादीले सार्थक बनाएकाले माओवादी केन्द्रमा आएको बताउनु भयो । राजपाका नेता दिनेश राय यादवले देश र मधेशको कुरा गर्ने एक मात्रै पार्टी माओवादी देखेर नै आफू पार्टी प्रवेश गरेको बताउनु भयो ।
नेताहरुलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले बाम एकताले मधेश र मधेशी जनताको अधिकारमा प्रतिकूल असर नगर्ने स्पष्ट पार्नुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘एमालेसहितका पार्टीहरुसँग पार्टी एकता र बाम गठबन्धनको तयारीपछि अब माओवादीले मधेशका मुद्धा छोड्छ भन्ने भ्रम पार्न खोजिएको छ । मधेश र मधेशी जनताको अधिकारका विषयमा एकमत भएर नै हामीले चुनावी तालमेल र पार्टी एकताको प्रक्रिया अघि बढाएका हौं । हामी मधेशी जनताको पहिचान, अधिकार र मधेशको समृद्धि र विकासको पक्षमा छौं र रहन्छौं, यसमा कहीँ कतै भ्रम नरहोस् ।’

कात्तिक ७, २०८१ बुधबार १३:११:४