प्रचण्डद्वारा जनकपुरका बाढी पीडितलाई राहत बितरण

भदौ १, जनकपुर । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुर उपमहानगरपालिका वडा नं.–१८ भोयलका २०० बाढी पीडित परिवारलाई राहत सामग्री बितरण गर्नुभएको छ ।
बिहीबार बिहान नेता मातृका यादवका साथमा जनकपुर पुग्नुभएका अध्यक्ष प्रचण्डले २०० बाढी पीडित परिवारलाई चामल, दाल, तेल, नुन, चिनी, चाउचाउ, बिस्कुट लगायतका खाद्य सामग्री राहतस्वरुप बितरण गर्नुभएको हो ।
राहत बितरण गर्दै अध्यक्ष प्रचण्डले नेपालीलाई दुख्दा सिङ्गो देश एक ढिक्का भएको बताउँदै बाढी पीडितको दुखमा साथ दिन आफू जनकपुर आएको बताउनु भयो । प्रचण्डले भन्नुभयो, ‘हिजो पहाडमा भूकम्प आउँदा तराई मधेशले दिल खोलेर सहयोग गर्याे। अहिले मधेशमा बाढी आएको छ, मधेश दुखेको छ । त्यस्तो बेला पहाडका बेला तपाईहरुलाई दिल खोलेर सहयोग गर्न आतुर छन् । अहिले सिङ्गो देश तपाईहरुको पीडाको साथमा छ । सरकार र पार्टीको तर्फबाट तपाईहरुको दुखमा मल्हम लगाउन हरदम तयार छ । राहत र पुनर्स्थापनाका सत्ता पक्ष, प्रतिपक्ष नभनी काम गर्न सबै पार्टीलाई आब्हान गर्दछु ।’
कार्यक्रममा माओवादी केन्द्रका नेताहरु मातृका यादव, विश्वनाथ साह, श्रवणकुमार यादव लगायतका नेताहरु उपस्थित हुनुहुन्थ्यो । सो अवसरमा बाढी प्रभावित क्षेत्रमा राहत र पूनस्र्थापनाको अभियान जारी राख्ने माओवादी केन्द्रका नेता मातृका यादवले बताउनु भयो ।

कात्तिक ९, २०८१ शुक्रबार २२:१२:४७