प्रतिगामी शक्तिसँग लड्न नयाँ सोच, विचार र एजेण्डाका साथ अघि बढ्नुपर्छः प्रधानमन्त्री

वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगामी शक्तिसँग लड्न नयाँ सोच, नयाँ विचार र नयाँ एजेण्डाका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ । पुराना एजेण्डा र पुरानो विचारले उनीहरुसँग लड्न नसकिने भएकोले र जनतालाई समाजवादको यात्राका डोर्याउन समाजवादी मोर्चा बनाएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘सरकार सुशासन, समाजवाद र समृद्धिको यात्रामा अघि बढेको छ’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘सुशासन, समाजवाद र समृद्धिको यात्रामा सरकार अघि बढिसकेको छ, अब यसबाट सरकार पछि हट्दैन ।” समाजवादी मोर्चाद्वारा वीरगञ्जमा आज आयोजित सन्देशसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘‘यतिबेला जनयुद्ध र मधेस आन्दोलमा होमिएका पुराना पार्टी र पुराना नेतालाई लक्षित गरी विभिन्न सामाजिक सञ्जालहरुबाट भ्रामक कुरा प्रचारप्रसार भइरहेको छ, खासगरी क्रान्तिकारी नेता र क्रान्तिकारी पार्टीका विरुद्ध ठूलो प्रपञ्च भइरहेको छ ।” पछिल्लो समय सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको प्रति दुःख व्यक्त गर्नुभएको छ ।
विभिन्न अवरोध, अड्चनका बाबजुद नक्कली भुटानी शरणार्थी घटनालाई छानबिन गरी निष्कर्षमा पुर्याइए जस्तै ललिता निवास काण्ड र सुन तस्करी काण्डलाई सरकारले निष्कर्षमा पुर्याउने उहाँले बताउनुभयो । यसबाहेक सरकारले मधेसमा ठूलो समस्याको रुपमा देखिएको मिटरब्याजी पीडितहरुको समस्या ऐन बनाएर सम्बोधन गर्ने प्रयास गरिएको र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने कामलाई अघि बढाएको प्रधानमन्त्रीको भनाई थियो ।

मधेसको विकासका लागि आफू चिन्तित रहेको बताउँदै उहाँले निजगढ विमानस्थल निर्माणका लागि बिहीबार नै मन्त्रिपरिषद्बाट निर्णय भइसकेकाले काम छिट्टै अघि बढ्ने दाबी गर्नुभयो । मधेस प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरी राहत प्याकेज ल्याउने तयारी भइरहेका बेला ठूलो वर्षा र बाढी आएकाले त्यो तत्कालका लागि रोकिएको उल्लेख गर्दै उहाँले एक दुई दिनभित्रै उक्त निर्णय गरिने र मधेसका किसानले राहत पाउने विश्वास व्यक्त गर्नुभयो । मधेसमा सिँचाइ गर्न सुनकोशी–मरिन डाइभर्सनको कामलाई तीव्रता दिएको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले निजगढ–काठमाडौँ फास्ट ट्रयाकको काम छिट्टै सम्पन्न हुने बताउनुभयो ।

लामो समयदेखि रोकिएको सङ्घीय शिक्षा ऐन, सङ्घीय निजामती ऐन र प्रहरी समायोजन ऐन तत्काल संसद्बाट पारित गरिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले तीनवटै ऐन पारित गराइ कार्यान्वयन गर्न सरकार दृढ रहेको बताउनुभयो । संविधान निर्माणका क्रममा आफ्नो पार्टीले केही असहमति राखेर पास गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानमा रहेको त्रुटि सच्याउन र संविधानलाई व्यवस्थित रुपमा संशोधन गर्न सरकार, सदन र सडक तीनवटै मोर्चाबाट पहल र प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो ।

असोज ६, २०८१ सोमबार ५:१७:२