प्रत्यक्ष कार्यकारी राष्ट्रपतिले मात्रै देशलाई स्थीरता दिन्छ, ‘प्रचण्ड’

भदौ ९, सुर्खेत । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिले मात्र देशमा राजनीतिक स्थीरता दिने बताउनु भएको छ ।
माओवादी केन्द्र प्रदेश नं. ६ को प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आउनुभएका प्रचण्डले पत्रकार भेटघाटमा बोल्दै राष्ट्रपतिको बिकल्प नभएकाले माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका पक्षमा देशव्यापी अभियान चलाउने बताउनु भयो ।
पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले अब हार्ने ठाउँ नभएको बताउनु भयो । प्रचण्डले भन्नुभयो, ‘जति हारियो, हारियो, अब माओवादी यहाँभन्दा तल जाने ठाउँ छैन । माओवादी एकता र ध्रुवीकरणको प्रक्रियामा छ, हेर्दै जानुहोला, अब माओवादीले जित्दै जान्छ ।
संविधान संशोधन विधेयक निर्णयार्थ पेश भइसकेकाले तत्काल संविधान संशोधनको प्रस्ताव नलगिने उहाँले बताउनु भयो । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि संविधान संशोधनको प्रस्ताव लग्न सकिने भनेर दिएको अभिव्यक्तिप्रति ईङ्गित गर्दै प्रचण्डले भन्नुभयो, ‘संविधानले देशका सम्पूर्ण शक्ति र समुदायको भावना समेट्नु पर्छ भन्नेमा हामी प्रष्टै छौं । तर, भर्खरै संविधान संशोधन विधेयक संसदबाट फेल भएको छ । तसर्थ, तत्काल संविधान संशोधन हुँदैन । संविधान संशोधन नेपालको आन्तरिक विषय हो, यसबारे अरु कसैसँग कुरा गर्न आवश्यक पनि छैन ।

 

कात्तिक १०, २०८१ शनिबार १२:१३:३१