प्रधानमन्त्री प्रचण्ड, मोदी र पिङबीच त्रीपक्षीय भेट

असोज ३०, गोवा भारत । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनियाँ राष्ट्रपति सि जिन पिङबीच त्रीपक्षीय भेट भएको छ ।
ब्रिक्स र बिमिस्टेक देशहरुबीचको संयुक्त सम्मेलनको अघिल्लो दिन तीन देशका राष्ट्र र सरकार प्रमूखबीच आकस्मिक रुपमा भेट भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनियाँ राष्ट्रपति सि जिन पिङबीच २० मिनेट ‘वान टु वान’ बार्तापछि प्रधानमन्त्री प्रचण्ड, भारतीय प्रधानमन्त्री मोदी र चीनियाँ राष्ट्रपति पिङबीच भेट भएको थियो ।
भेटका क्रममा नेपालका प्रधानमन्त्री प्रचण्डले आफूले अघिल्लो कार्यकालमै नेपाल, भारत र चीनबीच त्रीदेशीय रणनीतिक साझेदारीको आवश्यकतामा जोड दिएकोबारे बैठकमा स्मरण गराउनु भएको थियो । भेटमा प्रधानमन्त्रीले नेपाल बिशाल छिमेकी भारत र चीनको बीचमा भएकाले दुई देशबीच डाइनामिक ब्रिज बनेर लाभ उठाउन चाहेको बताउनु भएको थियो । भेटमा भारतका प्रधानमन्त्री र चीनियाँ राष्ट्रपतिले रणनीतिक साझेदारीबारे नेपालले राखेको प्रस्ताव महत्वपूर्ण भन्दै आफूहरु यसमा सकारात्मक रहेको बताउनु भएको थियो ।
भेटमा प्रधानमन्त्री प्रचण्डले बुद्ध, पशुपति र जानकीले नेपाल, भारत र चीनलाई जोडेको स्मरण गराउँदै आधुनिक इतिहासमा नेपालले भारत र चीनबीच सुमधुर सम्बन्ध बनाउन पुलको काम गर्नसक्ने बताउनुभयो । प्रधानमन्त्रीले नेपालले आफ्नै मौलिक आयामसहित विकासको लक्ष्य पछ्याइरहेको भन्दै त्यसका लागि दुवै छिमेकीसँग सन्तुलित, मैत्रीपूर्ण र रणनीतिक सम्बन्ध स्थापित गर्न चाहेको बताउनुभयो ।
भेटका अवसरमा चीनियाँ राष्ट्रपति पिङले देशको भूगोल सानो र ठूलो हुनुले निर्णायक अर्थ नराख्ने भन्दै नेपालले भारत र चीनबीच पुलको काम गर्नसक्ने बताउनु भयो । पिङले नेपालले प्रस्ताव गरेको त्रीदेशीय साझेदारीको मुद्धा महत्वपूर्ण रहेको बताउनुभयो । पिङले चीन र भारतबीचको सम्बन्ध समदुरीमा राख्न नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा तीन देशको सम्बन्ध थप मजभूत हुने विश्वास व्यक्त गर्नुभयो ।
भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल, भारत र चीनबीच भौगोलिक, भावनात्मक र सांस्कृतिक मित्रता रहेको बताउनुभयो । सो अवसरमा मोदीले नेपालले प्रस्ताव गरेको त्रीदेशीय साझेदारीको प्रस्तावमा भारत पनि सकारात्मक रहेको जानकारी दिनुभएको थियो ।

कात्तिक ७, २०८१ बुधबार १५:८:२३