प्रधानमन्त्रीको पहिलो तलव धुर्मुस–सुन्तली फाउण्डेसनलाई

भदौं १, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पहिलो महिनाको तलव धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा धुर्मुस–सुन्तलीसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘भूकम्पपछि आएको मानवीय बिपत्तिलाई राहत दिन तपाईहरुले चलाएको अभियान प्रशंसनीय छ । यसले देशैभरि सकारात्मक सन्देश गएको छ, यसले एउटा संस्कारकै रुपमा विकास गर्दैछ । म तपाईहरुको अभियानमा सँगै छु । अहिले तत्कालका लागि मेरो पहिलो महिनाको व्यक्तिगत तलव तपाईहरुको फाउण्डेसनलाई सहयोग गर्नेछु ।’
भेटमा धुर्मुस–सुन्तलीले निर्माण गरेको एकीकृत नमुना बस्तीलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले थप्नुभयो, ‘तपाईहरुको नेतृत्वमा निर्माण भएको नमुना बस्तीको सडक निर्माण लगायतका क्षेत्रमा सरकारले सहयोग गर्नेछ । कुनै समस्या र सहयोग चाहिए भन्नुहोला, सरकार सधैं खुल्ला हृदयले सहयोग गर्न तयार छ ।’ प्रधानमन्त्रीले आफू अहिले केही गरेर देखाउने सोंचमा रहेको भन्दै सरकार र नागरिक मिलेर पूनर्निर्माणलाई उत्साहवद्र्धक बनाउने बताउनुभयो ।
भेटमा धुर्मुस–सुन्तलीले आफूहरुलाई सरकारले सरसफाई दुत नियुक्त गरे पनि सामाजिक अभियानमा गर्नसक्ने सहयोगका लागि पर्याप्त अधिकार नभएको, पूनर्निर्माणले तिब्रता नपाएको भन्दै नयाँ सरकारले यसमा संवेदनशील भएर काम गर्ने आशा लिएको बताउनुभएको थियो ।

कात्तिक ७, २०८१ बुधबार २१:१८:२२