प्रधानमन्त्रीको भारत भ्रमण सुरु

३० भदौ, काठमाडौं । भारतको चारदिने राजकीय भ्रमणका क्रममा आज प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड विभिन्न औपचारिक कार्यक्रमहरुमा सहभागी हुनुभएको छ ।
आज मध्यान्ह भारतको राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्टिय विमानस्थलमा उत्रनुभएका प्रधानमन्त्रीलाई भारतीय विदेशमन्त्री सुस्मा स्वराजले स्वागत गर्नुभएको छ ।
भारत सरकारको अति विशिष्ट राजकीय पाहुनाका रुपमा भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड राष्टपति भवनमा बस्नुभएको छ । भ्रमणको पहिलो दिन आज प्रधानमन्त्री भारतस्थित नेपाली दूतावास जानुभई भारतमा रहेका प्रवासी नेपाली संस्थाका प्रतिनिधिहरु संलग्न कार्यक्रममा सहभागी हुनुका साथै भारतका विभिन्न नेताहरुसँग भेटघाट गर्नुभएको छ ।
भारतमा प्रधानमन्त्रीको पहिलो कार्यक्रम भारतस्थित नेपालीहरुका समस्या बुझ्ने र सुझाव लिने थियो । उक्त कार्यक्रममा विभिन्न संस्थाका समस्या र गुनासाहरु सुनेपछि प्रधानमन्त्रीले आफूले प्राप्त सुझाव र गुनासाहरुलाई गम्भीरतापूर्वक लिएको भन्दै यसमा ध्यान दिइने वताउनु भयो । प्रधानमन्त्रीले अहिलेको भारत भ्रमण दुई देशको सम्वन्ध सुमधुर बनाउन सदभाव भ्रमणका रुपमा रहेको भन्दै यो भ्रमणले नेपाल र भारतको सम्वन्ध थप सुमधुर र गतिशील बनाउने विश्वास व्यक्त गर्नु भयो ।
आजै प्रधानमन्त्रीले भारतस्थित नेपाल राजदूतावासमा भारतीय नेताहरु बिहारका मुख्यमन्त्री नितीश कुमार, कम्युनिष्ट नेता सिताराम यंचुरी, नेता शरद यादव, केसी त्यागी, डिपी त्रिपाठी लगायतसँग भेटघाट गर्नुभएको छ । भेटका अवसरमा दुई देशको आपसी सम्वन्ध र हितका विषयमा छलफल भएको थियो ।
आज साझ प्रधानमन्त्री भारतस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रीभोजमा सरिक हुनुभयो ।

कात्तिक ७, २०८१ बुधबार ११:१४:३१