प्रधानमन्त्रीको भारत भ्रमणमा नयाँ सम्झौता हुँदैनन्, अध्यक्ष प्रचण्ड’

चितवन, २० चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा नयाँ र महत्वपूर्ण विषयहरुमा छलफल र सम्झौता नहुने बताउनु भएको छ ।

बखान सहकारी संस्था लि चितवनको बखान राष्ट्रिय सहकारी संग्रहालयको शिलान्यास गर्न चितवन पुग्नुभएका अध्यक्ष प्रचण्डले भारतीय मीडियाहरुमा आएजस्तो महाकाली सन्धि र  अन्य नयाँ कुनै पनि विषयमा सम्झौता नहुने बताउनु भएको हो ।

भ्रमण दुई देश बीचको मित्रता सम्बन्ध सुधारका लागि मात्र सीमित हुने उहाँले बताउनु भयो । ‘भ्रमण दुई देशीय सम्बन्धमा केन्द्रित हुन्छ’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।

साथै अध्यक्ष प्रचण्डले बाहिर मीडियामा आएजस्तो एमाले र माओवादीबीच पार्टी एकतामा कुनै विवाद नरहेको बताउनु भयो ।  उहाँले भन्नुभयो, “बैशाख ९ गते दुई पार्टीको बीचमा एकता हुदैँछ, बाहिर आएजस्तो विवाद छैन, पार्टी एकता प्रतिशतका आधारमा हुदैँन, सिद्धान्तका आधारमा हुन्छ । तर, सम्मानजक एकता हुन्छ ।”

एकता संयोजन समितिको प्रतिवेदन आउन केही ढिला भएका कारण घोषणा गर्न ढिला भएको उहाँले बताउनु भयो । मंगलबार साँझसम्म प्रतिवेदन शीर्ष नेताले प्राप्त गर्ने पनि अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो ।

कात्तिक ७, २०८१ बुधबार ७:२३:२७