प्रधानमन्त्रीद्धारा आवुधावीमा रहेका नेपालीहरुसँग अन्तरक्रिया

जनवरी २, आवुधावी । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवुधावीमा रहेका नेपालीहरुसँग अन्तरक्रिया गर्नुभएको छ । दशौं विश्व भविष्य उर्जा सम्मेलनमा भाग लिन युएई आई पुग्नुभएका प्रधानमन्त्रीले आवुधावीमा रहेको नेपाली दुताबासमा नेपालीहरुसँग अन्तरक्रिया गर्नुभएको हो ।
नेपालीहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्रीले भन्नुभयो, ‘राजनीतिक रुपमा राष्ट्रिय एकताका लागि संविधान कार्यान्वयन, आर्थिक रुपमा पूर्वाधार निर्माण र समृद्धिमा सरकारले जोड गरेको छ । मेरो नेतृत्वको सरकारले विदेशमा रहेका नेपालीहरुका समस्यालाई उच्च प्राथमिकता दिएको छ । हामी निरन्तर त्यसमा क्रियाशील छौं । तपाईहरुले यहाँ हासिल गरेको अनुभव र पूँजी नेपालको विकासको लागि आधारशिला हो, पूँजी हो । तपाईहरुले बगाएको पसिनाको सदुपयोग होस् भन्नेमा सरकार सचेत छ ।’
नेपालको राजनीतिबारे बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं, सबैका भावना छन्, राष्ट्रिय एकता हासिल गर्नुछ, कसैलाई पेलेर वा ठेलेर समस्याको हल हुँदैन । सरकार सबैसँग समान रुपले सम्वादमा छ । सम्वाद सकारात्मक दिशामा छ, राष्ट्रिय सहमति बनाएर संविधान कार्यान्वयन गर्नेमा सरकार छ ।’
उर्जा सम्मेलनबारे बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘उर्जा सम्मेलन हाम्रा लागि धेरै महत्वको छ । जलविद्युतको प्रचुर सम्भावना भएर पनि हामीले सदुपयोग गर्न सकेका छैनौं । अहिले हाम्रो ध्यान यसमा छ । हामीले वैदेशिक रोजगारीबाट आएको पूँजीलाई विकास आयोजनामा केन्द्रित गर्न खोजेका छौं । म विकासका कामलाई केन्द्रमा राखेर विकासका आयोजनाहरुको अनुगमन गरिरहेको छु । राजनीतिक विवादमा अल्झिएर हामीले विकासलाई उपेक्षा गरियो, अब त्यसो गर्नु हुँदैन । ईच्छाशक्तिका साथ नेतृत्वले देशको विकास लागि केही गर्नैपर्छ ।’
ब्लड मनी, पासपोर्टको नवीकरण शुल्क घटाउने लगायतका केही महत्वपूर्ण काम गरिरहेको जानकारी दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘हामीले केही गर्न खोजेका छौं । यस्तो अवस्थामा सबैको साथ जरुरी छ । तपाईहरुको साथ पाएको छु, विकास र पूर्वाधार निर्माणमा तपाईहरुको थप सहयोग र सद्भावको अपेक्षा गरेको छु । तपाईहरुले जति पनि कुरा उठाउनु भएको छ । त्यसलाई म कुटनीतिक र राजनीतिक तबरले सम्बोधन गर्नेछु, त्यसमा तपाईहरु विश्वस्त हुनुहोला ।’
भेटमा उर्जामन्त्री जनार्दन शर्मा, परराष्ट्र सचिव शंकरदास बैरागी, युएईका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन, शिष्टाचार महापाल दीपक अधिकारी लगायत सहभागी हुनुहुन्थ्यो । भेटका अवसरमा सहभागीहरुले वैदेशिक रोजगारीका क्रममा आफूले भोग्नुपरेका समस्या र अवस्थाबारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए ।

कात्तिक ६, २०८१ बुधबार ५:२:५६