प्रधानमन्त्रीद्धारा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निरीक्षण र निर्देशन

कार्तिक २३, दोलखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोलखाको लामाबगर गाबिसको गोंगरमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरी आयोजना छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
मंगलबार प्रधानमन्त्रीले नेपाली सेनाको हेलिकोप्टरबाट दोलखा सदरमुकाम चरिकोटबाट ५५ किमी उत्तरमा रहेको माथिल्लो तामाकोशीको स्थलगत निरीक्षण गर्नुभएको हो । आयोजनाको स्थलगत निरीक्षणपछि आयोजनाका कर्मचारीहरुलाई निर्देशन दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा मैले राष्ट्रिय गौरवका आयोजनाहरुको आफै निरीक्षण गर्ने घोषणा गरेको थिएँ । त्यही घोषणाबमोजिम राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन र निर्देशन गर्दैछु । सरकारले सबै आयोजनाहरु तोकिएको समयभन्दा छिटो, गुणस्तरीय र कम लागतमा सम्पन्न गर्ने लक्ष्य राखेको छ । यो आयोजना २०७५ सालभित्र सम्पन्न गर्ने भनिएको छ । तर, तपाईहरुले तोकिएको अवधिभन्दा ६÷८ महिना अघि नै आयोजना सम्पन्न गर्नुस् र पुरस्कृत हुनुस् ।’
माथिल्लो तामाकोशीमा सरकारको ११ अरब शेयर रहेको बताउँदै प्रधानमन्त्रीले उक्त शेयर शहिद परिवार र बिपन्न नागरिकको शेयरमा बदल्ने गरी तयार गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
प्रधानमन्त्रीले आयोजना सम्पन्न गर्न सरकारले गर्नुपर्ने सबै सहयोग गर्ने जानकारी गराउँदै तोकिएको समयभन्दा छिटो काम सम्पन्न गर्ने आयोजना र कर्मचारीहरुलाई पुरस्कृत गरिने बताउनुभयो । निरीक्षणका क्रममा स्थानीयबासीसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले भूकम्पपीडितलाई अनुदान र सहुलित ऋण गरेर आठ लाखसम्म सहयोग गर्ने निर्णय गरिएको समेत जानकारी दिनुभयो ।
सो अवसरमा आयोजनाका प्रमूख विज्ञान श्रेष्ठले आर्थिक वर्ष २०५६÷२०५७ मा अध्ययन प्रारम्भ भई आर्थिक वर्ष २०६२÷२०६३ बाट निर्माण कार्य प्रारम्भ भएको आयोजनाको ८२ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिनुभयो ।

कात्तिक ७, २०८१ बुधबार १६:५:३५