प्रधानमन्त्रीद्वारा लाप्राक एकीकृत बस्तीको शिलान्यास

असोज २१, लाप्राक, गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकार र गैरआवासीय नेपाली संघ (एनआरएन) को लगानीमा निर्माण हुने लाप्राकको एकीकृत नमूना बस्तीको शिलान्यास गर्नुभएको छ ।
शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट लाप्राक पुग्नुभएका प्रधानमन्त्रीले नमूना बस्ती शिलान्यास कार्यक्रममा भन्नुभयो, ‘यो एकीकृत बस्ती मात्रै होइन, नमूना बस्ती पनि हो । यसले देशलाई नै नयाँ सन्देश दिन सक्छ । यसले सम्पूर्ण नेपालीमा आशा जगाउन सक्छ । शेष घले लगायत एनआरएनका साथीहरुको देशप्रतिको ममता सम्मानयोग्य छ । अनआरएनको ६०० घर बनाउने चाहनाको सरकार सम्मान गर्छ । ४४४ घर यहाँ बन्नेछन् । बाँकी १५० घरका लागि नयाँ ठाउँ खोज्नुछ, त्यसका लागि सरकारले आवश्यक निर्णय गर्नेछ ।’
प्रधानमन्त्रीले एनआरएनको कामको प्रशंसा गर्दै भन्नुभयो, ‘एनआरएनले खतरा मोलेको छ, जोखिम मोलेको छ । शेष घलेजीको परिचय त्यसै बनेको होइन । उहाँले आँटेपछि काम पुरा गर्नुहुन्छ भन्ने मलाई विश्वास छ । एनआरएनका साथीहरुभित्र देखिएको राष्ट्रिय भावना हामी सबैका लागि प्रेरणादायी छ ।’
कार्यक्रममा नेपाल सरकारका मूख्य सचिव डा. सोमलाल सुवेदीले एकीकृत बस्ती निर्माणको गुरुयोजना स्वागतयोग्य रहेको बताउँदै आउने समस्यामा सरकार साझेदारी गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा एनआरएनका अध्यक्ष शेष घलेले प्रधानमन्त्रीको सम्बोधनले आफूहरुलाई ढुक्क बनाएको भन्दै १२ महिनाभित्र लाप्राकबासीलाई नयाँ घरमा सार्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा इन्जिनियर स्वरुप कोनेले नमूना बस्तीको सर्भे र तयारीको काम सम्पन्न भएको जानकारी दिनुभयो । नेपाल सरकारबाट जग्गा उपलब्ध गराउने निर्णय भएपछि एनआरएनले निर्माण कार्य प्रारम्भ गरेको हो ।
लाप्राकको एकीकृत बस्ती प्राकृतिक र भौगोलिक संरचना, वातावरण नबिग्रने गरी स्थानीय सामाग्रीको प्रयोगद्धारा निर्माण गरिने एनआएनका अध्यक्ष शेष घलेले जानकारी दिनुभयो । नमूना बस्तीमा संघले ४४४ घर आधुनिक घर निर्माण गर्नेछ । एकीकृत बस्तीमा विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, स्थानीय जाति, जनजातिको भेषभुषा, संस्कृति र रहनसहन झल्कने एवं प्राकृतिक स्वरुप कायम हुने खालका घरहरुमा बनाइनेछ ।
एकीकृत बस्तीमा निर्माण हुने संग्रहालयमा पानी घट्ट, जाँतो, ढिकी, लाइभ प्रोग्राम देखाउन मिल्ने हल, परम्परागत बस्तु र संस्कारबारे सामग्री, मन्दिर, देवल पनि हुनेछन् । एकीकृत बस्तीमा सोलार इनर्जी, अपांगमैत्री संरचना हुने इन्जिनियर कोनेले जानकारी दिनुभयो ।
बस्तीमा होमस्टे, सामुदायिक गेष्ट हाउस समेत निर्माण गरी व्यक्तिगत र संस्थागत आम्दानीको स्रोत जुटाइने संघका अध्यक्ष घलेले बताउनुभयो । घर निर्माणका लागि प्रतिघर ९ देखि १० लाख लागत लाग्ने, १८ हेक्टर जमिन निर्माण स्वीकृति लिइएको र ३० देखि ३५ लाखको लागत लाग्ने अनुमान गरिएको छ ।

शहिद परिवार र कार्यकर्तालाई सम्बोधन
शिलान्यास कार्यक्रमपछि प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले स्थानीय पार्टी कार्यकर्ता र शहिद परिवारलाई निर्देशन दिँदै विकास निर्माण र समृद्धिका लागि जनतासँग मिलेर काम गर्न आग्रह गर्नुभयो ।

शिलान्यास कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधनका बुंदाहरुः
— लाप्राकमा भूकम्पपछि आएको तेस्रोपटक हो । भूकम्पको बेला राहतका लागि आएको थियो । दोस्रोपटक खानेपानी आयोजनाको शिलान्यास गर्न आएँ ।
भूकम्प गएलगत्तै मैले सत्तापक्ष प्रतिपक्ष हुनुहुन्न भनेर राष्ट्रिय सहमतिका लागि विशेष जोड गरेको थिएँ । मिलेर उद्दार र राहतमा लाग्न मैले गरेको प्रयास सफल पनि भयो ।
— लाप्राक नमूना बस्तीको गुरुयोजना निकै राम्रो र सकारात्मक छ । यसले हाम्रो संस्कृति र जीवनपद्धतिलाई समेट्नेछ । यो बस्तीको शिलान्यास गर्न पाउँदा निकै खूसी लागेको छ ।
भूकम्प गयो, ठूलो क्षति भयो । तपाईहरुको तल्लो गाउँ बस्नै नमिल्ने गरी क्षतिग्रस्त भयो । भूकम्प जानु नराम्रो कुरा हो । तर, बाँचेकाहरुले राम्रो गर्न चाहे धेरै गर्न सकिन्छ । यो पूनर्निर्माणका लगि मात्र नभएर नवर्निर्माणका लागि अवसर पनि हो, सुरक्षित र एकीकृत बस्ती बसाउने समय पनि हो । यद्यपि, हाम्रो जीवनपद्धति र निर्वाहमूखी प्रणालीले एकीकृत बस्ती कठिन नै छ ।
— एकीकृत बस्तीको संस्कार जनजाति र मधेशमा बढी छ । यद्यपि, एकीकृत बस्तीमा धेरैको रुचि देखिदैन । त्यो राम्रो मनोविज्ञान होइन, एकीकृत बस्ती नै सबैका लागि उपर्युक्त हुन्छ र हामी त्यही मोडेलमा जानुपर्छ । लाप्राकमा एकीकृत बस्तीका लागि गरिएको पहल प्रगतिशील कदम हो । यसको सम्मान गर्छु । यसले आर्थिक विकास र पर्यटनमा पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
— यो एकीकृत बस्ती मात्रै होइन, नमूना बस्ती पनि हो । यसले देशलाई नै नयाँ सन्देश दिन सक्छ । यसले सम्पूर्ण नेपालीमा आशा जगाउन सक्छ । शेष घले लगायत एनआरएनका साथीहरुको देशप्रतिको ममता सम्मानयोग्य छ । अनआरएनको ६०० घर बनाउने चाहनाको सरकार सम्मान गर्छ । ४४४ घर यहाँ बन्नेछन् । बाँकी १५० घरका लागि नयाँ ठाउँ खोज्नुछ, त्यसका लागि सरकारले आवश्यक निर्णय गर्नेछ ।
— दीर्घकालीन रुपमै जग्गा प्राप्तिका लागि सरकारले वातावरण बनाउने छ । घर बनाउने सम्झौता भएको छ । कुनै प्राविधिक समस्या भए यहाँबाट फर्केपछि मिलाउनेछु । अनुदान र सहुलियत ऋण गरेर भूकम्प पीडित ८ लाख अनुदान र ऋण दिने व्यवस्था गरेको छु । नमूना बस्ती निर्माण कार्यमा तपाईहरुका लागि विशेष सहयोग हुनेछ ।
— एनआरएनले खतरा मोलेको छ, जोखिम मोलेको छ । शेष घलेजीको परिचय त्यसै बनेको होइन । उहाँले आँटेपछि काम पुरा गर्नुहुन्छ भन्ने मलाई विश्वास छ । एनआरएनका साथीहरुभित्र देखिएको राष्ट्रिय भावना हामी सबैका लागि प्रेरणादायी छ ।

_DSC8944_DSC9041_DSC9014_DSC9059

कात्तिक ८, २०८१ बिहीबार २०:७:३०