प्रधानमन्त्रीलाई खुम्बु पासाङल्हामु गाउँपालिकाको ज्ञापनपत्र

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष विभिन्न तीनबुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ । आज सोही गाउँपालिका पुग्नुभएका प्रधानमन्त्री प्रचण्डलाई अध्यक्ष मिङमा छिरी शेर्पाले स्थानीय समस्या समाधानका लागि ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाउनुभएको हो । विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा प्रधानमन्त्रीलाई स्वागत गर्न पाउँदा आफूहरु असाध्यै हर्षित भएको उल्लेख गरिएको छ ।

विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा परिचित सो गाउँपालिकाले सङ्घ, प्रदेश र विभिन्न दातृ निकायसँग सहकार्य समन्वय गर्दै गाउँपालिकालाई समृद्ध बनाउन प्रयासरत रहेको ब्यहोरासमेत सो अवसरमा अवगत गराएको थियो । हवाई यातायातको भर पर्नु परेकाले यस क्षेत्रमा यातायातको सहज पहुँचका लागि पालिकाले प्रदेश सरकारसँग सहकार्य गरी पालिका केन्द्रसम्मको सडक ट्र्याक खोल्ने कार्यलाई द्रुत गतिमा भइरहेको जानकारी गराएको छ । सगरमाथा क्षेत्र जोड्ने उक्त सडकको स्तरोन्नतिको योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी बजेट विनियोजन गरिदिन गाउँपालिकाले प्रधानमन्त्रीलाई अनुरोध गरेको हो ।

प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आउनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अक्टोबर ३० मा खुम्बु क्षेत्रको भ्रमणमा तापक्रम बढ्ने, हिमताल पग्लने र त्यसले जनतालाई पु¥याउने हानिनोक्सानीको कुरालाई गम्भीरतापूर्वक लिनुभएको थियो । जलवायु परिवर्तनको जोखिमबाट हिमाली क्षेत्रमा बसोबास गर्ने जनताको जीवनस्तरमा परेको समस्या र चुनौतीलाई समाधान गर्न क्षतिपूर्ति हुनुपर्छ भन्ने विषय केही समयपछि हुन लागेको कोप–२८ सम्मेलनमा विश्वको ध्यानाकर्षण गराउन गाउँपालिकाले प्रधानमन्त्रीलाई अनुरोध गरेको छ ।

 

कात्तिक ७, २०८१ बुधबार ८:१४:५८