प्रधानमन्त्रीसँग भियतनामी सहायक विदेश मन्त्रीको भेट

फागुन २०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भियतनामका सहायक विदेश मन्त्री फाम सान चाउले भेट गर्नुभएको छ । चाउले शुक्रबार बिहान बालुवाटारमा पुगी प्रधानमन्त्रीसँग भेट गर्नुभएको हो ।
भेटमा प्रधानमन्त्रीले भियतनामको राजनीतिक क्रान्तिबाट आफू प्रेरित भएको बताउँदै भियतनामीको स्वाभिमानप्रति आफ्नो उच्च सम्मान रहेको बताउनु भयो । भियतनामले द्रुत आर्थिक विकास र युद्धपछिको पुनर्निर्माणमा राम्रो प्रगति गरेको भन्दै प्रधानमन्त्रीले त्यसबाट आफूले शिक्षा लिएको बताउनु भयो । प्रधानमन्त्रीले सेना समायोजन र हतियार व्यवस्थापन विश्वका लागि शिक्षाप्रद भएको भन्दै नेपाल संविधान कार्यान्वयन गर्दै आर्थिक समृद्धि हासिल गर्ने दिशामा अगाडि बढेको जानकारी दिनुभयो । कृषि, प्रविधि, जलविद्युत र पर्यटनमा नेपालले भियतनामसँग सहकार्य गर्न इच्छुक रहेको प्रधानमन्त्रीले बताउनु भयो ।
भेटमा चाउले प्रधानमन्त्रीलाई भियतनाम भ्रमणको निम्तो दिँदै नेपालमा आर्थिक विकासका प्रशस्त सम्भावना रहेको बताउनु भयो । चाउले जलविद्युतको क्षेत्रमा भियतनाम पनि नेपालसँग सहकार्य गर्न ईच्छुक रहेको बताउँदै त्यसका लागि सहकार्य जारी राख्ने बताउनु भयो ।

पुष १९, २०८१ शनिबार ३:१७:३९