प्रमुख नेतृत्वको साहसिक निर्णयका कारण देशको राजनीति बदलिएको होः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख नेतृत्वको साहसिक निर्णयले गर्दा देशको राजनीतिक रंग असाधारण ढंगले बदलिएको बताउनुभएको छ । सम्पर्क समन्वय कमिटीद्वारा राजधानीमा आयोजित भेला तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘असोज १७ गते अब पार्टी नै एउटै बनाउने भनेर चुनाव लड्ने घोषणा गर्नुभन्दा अगाडि देशको राजनीति यसरी जाला, कम्युनिष्ट पार्टी यति लोकप्रिय मतसहित देशको शक्तिशाली नेताको रुपमा आउला भनेर देशभित्रका र बाहिरका मानिसहरुले सोचेका थिएन् ।’

अध्यक्ष प्रचण्डले बुर्जुवाहरुले उक्त कुरा सोच्न पनि नभ्याएको उल्लेख गर्नुभयो। ‘बुर्जुवा प्रतिक्रियावादीहरुले त कल्पना समेत गरेका थिएनन्, ’ उहाँले भन्नुभयो, ‘कम्युनिष्ट आन्दोलन संसारमा स्थापना भएदेखि यहाँसम्म थुप्रै क्रान्तिका प्रक्रिया हुँदै असाधारण एकता प्रक्रियामार्फत राज्यको नेतृत्व गर्ने र विश्वलाई नै एउटा उदाहरण प्रस्तुत गर्लान् भनेर मान्छेले सोचेका थिएनन् ।’ नेपालको इतिहासमा कम्युनिष्ट आन्दोलनले धेरै ठूलो त्याग र तपस्यापछि आजको यो स्थिति कायम उहाँको भनाई थियो ।

उहाँले पार्टी एकताका कामहरु टुंगो पुर्याउन आफूहरु ढिलो भएको भन्दै १० लाख मान्छेहरु एक वर्षसम्म जिम्मेवारविहिन बस्नुले पार्टीलाई क्षति पुगेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘एक वर्ष निष्कृय बस्ने भनेको निकै ठूलो क्षति हो, जुन हामीलाई भइसकेको छ । हामीले करिब करिब हात्ति चैं छिराइसकेका छौं, पुच्छर मात्र बाँकी छ, सजिलै छिर्छ ।’

त्यसैगरी अध्यक्ष प्रचण्डले दोलखाको जिरी नगरपालिकाको भवन समुद्घाटन कार्यक्रमलाई आज दिउँसो सम्बोधन गर्दै जिरीको विकासमा ध्यान नपुगेको आफू दोलखा पुगेपछि महसुस भएको बताउनुभयो । नेपाल बहुजातिय, बहुभाषिक, बहुसंस्कृतिक देश भएको भन्दै जिरीमा भएका बहुसांस्कृतिक विषयले नयाँ सन्देश दिएको उहाँको भनाई थियो।

कात्तिक ८, २०८१ शुक्रबार ४:१६:५