फ्रान्सका राजदूतद्वारा अध्यक्ष प्रचण्डसँग भेट

काठमाडौं, २४ चैत । फ्रान्सका राजदूत एभेस कारमोनले आज बिहान अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । भेटमा अध्यक्ष प्रचण्डले हालै भारत र युरोपियन युनियनले निकालेको संयुक्त विज्ञप्तीबारे फ्रान्सको धारणा बारे सोध्नुभएको थियो । जवाफमा राजदूत कारमोनले फ्रान्सले नयाँ संविधानलाई सम्पूूर्ण रुपले समर्थन गरेको बताउनु भएको थियो ।

अध्यक्ष निवास लाजिम्पाटमा भएको भेटवार्तामा अध्यक्षले नेपाल भिन्न परिस्थितिबाट गुज्रिएको बताउँदै देशका समस्याहरु विगतदेखि नै नेपाली जनता आफैंले समाधान गरिहेको बताउनु भयो । सो क्रममा अध्यक्षले शान्ति प्रक्रिया, सेना समायोजन र संविधान सभाबाट नयाँ संविधान जारी नेपाली जनता आफैंले गरेको बताउनु भयो । उहाँले संविधानमा उत्पीडित जाति, समुदाय, लिंग, क्षेत्रलाई समेटिएको बताउँदै अझै धेरै विषयहरु संविधानको कार्यान्वयनका क्रममा सुधारिँदै लैजाने बताउनु भयो ।

भेटमा राजदूतले फ्रान्सेली लगानीकर्ता कम्पनीहरु नेपालमा लगानीका लागि इच्छुक रहेको बताउनु भएको थियो । अध्यक्षले नेपाल नवनिर्माणमा अघि बढेकाले लगानी गर्ने कम्पनीहरुको खाँचो रहेको बताउनु भयो । त्यसको लागि नेपालमा लगानी गर्ने उचित वातावरण रहेको स्पष्ट पार्नुभयो ।

कात्तिक ६, २०८१ बुधबार १:३:१०