बिआरआईले नेपालको आर्थिक र सामाजिक क्षेत्रकाे विकासमा महत्वपूर्ण भूमिका खेल्ने अध्यक्षकाे विश्वास

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनले अगाडि सारेको बिआरआई परियोजनाले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ।

हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका राजनीतिक दलबीचको संयुक्त परामर्श संयन्त्रको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सडक, रेलमार्ग तथा हवाई सञ्जालको विस्तार गरी नेपाल हुँदै दक्षिण एशियालाई जोड्ने एउटा महत्वपूर्ण सम्पर्क सञ्जालका रुपमा बिआरआई परियोजना अगाडि बढेको बताउनुभयो।

शान्ति, स्थायित्व र विकासका लागि चीनले अघि सारेको बिआरआई परियोजना नेपालका लागि महत्वपूर्ण रहेको बताउँदै गत वर्ष चिनियाँ राष्ट्रपतिले गर्नुभएको नेपालको दुई दिवसीय राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु-याएको उल्लेख गर्नुभयो। उहाँले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा भएका सहमति तथा समझदारीले पनि एक अर्काको विश्वास र सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको बताउनुभयो।

बिआरआई परियोजनाबाट नेपाल र चीन दुवै देशले फाइदा लिन सक्ने भएकाले त्यसलाई आफूले महत्वपूर्ण अवसरका रुपमा समेत लिएको प्रचण्डले स्पष्ट पार्नुभयो। गत वर्ष चिनियाँ राष्ट्रपतिले गर्नुभएको नेपाल भ्रमणका क्रममा भएका सम्झौतामा एक अर्का देशको भावनालाई समेटेको उहाँको भनाइ थियो।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा दुई पार्टीबीच विभिन्न संयन्त्रका माध्यमबाट सम्पर्क विकास गर्ने र त्यसलाई क्रमशः विस्तार गर्दै लैजाने विषयमा महत्वपूर्ण छलफल भएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले सोही छलफलका आधारमा दुई पार्टीबीच महत्वपूर्ण विचारविमर्श भइरहेको बताउनुभयो।

कोभिड महामारीका कारण यसै वर्षको शुरुवातमा हुने भनिएको उच्चस्तरीय भ्रमण हुन नसकेको जनाउँदै उहाँले कोरोनाको प्रकोप रोकिएपछि दुई देशबीच थप उच्चस्तरीय भ्रमण आदानप्रदान हुने विश्वास व्यक्त गर्नुभयो।

नेपाल सधैं एक चीन नीतिप्रति प्रतिबद्ध रहँदै आएको उल्लेख गर्दै उहाँले नेपालको भूमिबाट कुनै पनि चीन विरोधी गतिविधि हुन नदिने प्रतिबद्धता समेत दोहो¥याउनुभयो। नेपालको सार्वभौसमत्ता र अखण्डताका पक्षमा चीनले देखाएको सद्भावलाई अध्यक्ष प्रचण्डले खुशी व्यक्त गर्दै धन्यवाद दिनुभयो।

कोरोना महामारीको नियन्त्रणका लागि चीन सरकारका तर्फबाट नेपाललाई निरन्तर प्रदान गरिएको सहयोगप्रति धन्यवाद दिँदै अध्यक्ष प्रचण्डले नेपालको आर्थिक तथा सामाजिक विकासमा चीनले गर्दै आएको सहयोग नेपालका लागि असाध्यै महत्वपूर्ण रहेको बताउनुभयो।

नेपालमा अझै पनि कोरोनाको महामारी बढिरहेकाले त्यसलाई नियन्त्रण गर्न चीन सरकारबाट तर्फबाट थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै उहाँले महामारीबाट सिर्जित समस्याको निराकरण गर्दै आर्थिक विकासमा समेत थप सद्भाव प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।

विश्वभर नै फैलिएको कोरोना महामारीको नियन्त्रणका लागि चीन सरकारले गरेको सहयोगको विश्वस्तरमा विश्व स्वास्थ्य सङ्गठन लगायतले समेत उच्च प्रशंसा गरेको सन्दर्भ जोड्दै अध्यक्ष प्रचण्डले मानव जीवनको रक्षाका लागि उसले खेलेको महत्वपूर्ण भूमिकाप्रति धन्यवाद दिनुभयो।

यस्ता कार्यक्रमले नेपाल र चीनबीचको मैत्रीसम्बन्धलाई दीर्घकालसम्म विस्तार तथा विकास गर्न र नयाँ उचाइमा उठाउन महत्वपूर्ण भूमिका खेल्ने जनाउँदै उहाँले आयोजकलाई धन्यवाद पनि दिनुभयो।

त्यस्तै चीनको तर्फबाट चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग मन्त्री सोङ ताओ, चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत कमिटीका सेक्रेटरी वु यिंगजी लगायतले बोल्नुभएको थियो।

कात्तिक ७, २०८१ बुधबार १३:११:३१