नेपालको ऊर्जा क्षेत्रमा यस प्रकारको सहमतिले ठूलो लगानी भित्र्याउनसमेत बल पुग्ने उहाँको भनाइ छ । दश वर्षमा १० हजार मेगावाट भारतले आयात गर्ने कुरा आफैँमा ऐतिहासिक र महत्त्वपूर्ण रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । भारतीय कम्पनी सतलजले सङ्खुवासभामा निर्माण गरिरहेको नौ सय मेगावाट क्षमताको अरुण तेस्रो, सोही कम्पनीले जिम्मा पाएको तल्लो अरुण जस्ता आयोजनाको सफल उदाहरण छ ।
निजी क्षेत्रले उठाउँदै आएको मागबमोजिम बिजुली व्यापारमा भएको सहमतिले नयाँ विश्वास र आधार तयार पारेकामा प्रधानमन्त्री प्रचण्डले प्रसन्नता व्यक्त गर्नुभयो । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत एक हजार दुई सय मेगावाट बराबरको बिजुली सहजरूपमा भारत निर्यात हुने वातावरण बनेको छ । यसअघि चिनियाँ कम्पनीको सहभागिता रहेको भन्दै भारतीय पक्षले सो आयोजनाको बिजुलीसमेत लिन मानेको थिएन ।
विश्वव्यापी बोलपत्रका माध्यमबाट छानिएर आएका जुनसुकै कम्पनीको बिजुलीसमेत भारतले सहजरूपमा लिने विषयमा पनि सहमति भएको छ । यस्तै, नेपालको बिजुली बङ्गलादेश लैजाने सन्दर्भमा समेत ऐतिहासिक सहमति भएको छ । बङ्गलादेशले तत्कालका लागि ५० मेगावाट बिजुली लैजाने भएको छ । त्यसका लागि भारतीय पूर्वाधार प्रयोग गर्नुपर्छ ।
प्रधानमन्त्री प्रचण्डले नेपाल, भारत र बङ्गलादेशबीच अब त्रिपक्षीय सहमति नै भएकोे भनेर मान्न सकिने उल्लेख गर्नुभयो । नेपालका केही ठूला आयोजनामा बङ्गलादेशले लगानी गर्न इच्छा व्यक्त गर्दै आएको छ ।
प्रधानमन्त्रीले लामो समयदेखि चर्चामा मात्रै सीमित रहेको र हरेक जसो प्रधानमन्त्रीको भारत भ्रमणमा चर्चामा आउने पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा समेत महाकाली सन्धिको मर्मअनुसार अगाडि बढ्न आफूहरू सहमत भएको बताउनुभयो ।
यस्तै, नेपाल र भारतबीच रहेको सीमा समस्या समाधान नगर्दासम्म दुई देशबीचको सम्बन्ध नयाँ आधारमा अगाडि बढ्न नसक्ने र सधैँ यस्तै जटिलता रहिरहने भएकाले पनि यसलाई समाधान गर्न भारत तयार भएको उहाँले जानकारी दिनुभयो । भारतीय प्रधानमन्त्री मोदीले नै समस्या समाधानमा लागौँ भन्नुभएको जानकारी दिँदै प्रधानमन्त्रीले यसलाई पनि सकारात्मकरूपमा लिन सकिने बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले स्वच्छ ऊर्जाको अभियानमा लागेको भारतले नेपालको बिजुली आयात गर्नेतर्फ केन्द्रीत हुनु र त्यसका लागि दीर्घकालीनरूपमा अगाडि बढ्न सहमत हुनु पनि आफैँमा महत्त्वपूर्ण विषयका रूपमा अर्थ्याउनुभयो । नेपालको बिजुलीको बजार छैन भनेर अब कोही पनि विदेशी लगानीकर्ताले लगानीका लागि डर मान्नुपर्ने अवस्थाको अन्त्य भएको प्रधानमन्त्रीको भनाइ छ ।
उहाँले आफ्नो जोड देशभित्रै बिजुलीको खपत बढाउनुपर्छ भन्नेमा नै रहेको बताउनुभयो । तत्काल माग बढ्न नसकेको अवस्थामा बिजुली खेर फाल्न नहुने भन्दै उहाँले त्यसबाट व्यापार घाटा कम गर्न सहयोग पुग्ने बताउनुभयो । “अब यस क्षेत्रमा ठूलो मात्रामा लगानी हुने वातावरण बनेको छ । नेपालको बिजुलीको बजारसमेत सुनिश्चित भएको छ”, प्रधानमन्त्रीले भन्नुभयो “यो आफैँमा ऐतिहासिक छ ।”
यस्तै, सम्पर्क सञ्जालको विस्तार, रेलमार्ग, धार्मिक पर्यटनको अभिवृद्धि तथा विद्युतीय भुक्तानीलगायतका विषयमा समेत महत्त्वपूर्ण सहमति भएको भन्दै प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण मुलुकको सर्वपक्षीय हितमा नै केन्द्रीत रहेको बताउनुभयो ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बुधबार भारत आउनुभएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड शुक्रबार मध्यप्रदेशस्थित इन्दोर आइपुग्नुभएको छ । शनिबार साँझ प्रधानमन्त्री काठमाडौँ फर्कने कार्यसूची छ ।