भारत र चीनको विकासबाट लाभ लिने उपायको खोजीमा छौंः प्रधानमन्त्री प्रचण्ड

महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत र चीनको विकासबाट लाभ लिने उपायको खोजीमा आफूहरु रहेको बताउनुभएको छ । कञ्चनपुरको दोधरा–चाँदनी नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्रीले प्रस्तावित सुख्खा बन्दरगाह त्रिदेशीय रणनीति अनुसार निर्माण हुने बताउनुभयो ।

बन्दरगाह निर्माणपछि सुदूरपश्चिम प्रदेशका साथै समग्र मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ थियो । “सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीति अनुसार निर्माण हुनेछ”, उहाँले भन्नुभयो, “हामी भारत र चीनको विकासबाट लाभ लिने उपायको खोजीमा छौँ, यो रणनीति अघि बढाउन बन्दरगाहले सहयोग पु¥याउने विश्वास छ ।” उहाँले सुख्खा बन्दरगाहले नेपाल, भारत र चीन तीन वटै देशलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले बन्दरगाह निर्माणलाई उच्च प्राथमिकता दिएको समेत बताउनुभयो । उहाँले हालै यसको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)को काम सकिएकाले समयमै निर्माण पूरा हुनेमा विश्वास व्यक्त गर्नुभयो । “एमओयूमै भारत सरकारले तीन वर्षमा बन्दरगाह निर्माण गर्ने भनिसकेकाले मलाई निकै खुसी लागेको छ”, उहाँले भन्नुभयो, “यसबाट सुदूरपश्चिमका साथै मुलुकको विकासमा ठूलो योगदान पुग्नेछ ।”

उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले महाकाली नदीमा निर्माणाधिन चार लेनको पक्की पुलको समेत निरिक्षण गर्नुभएको थियो ।

कात्तिक ७, २०८१ बिहीबार ०:२३:१४