भारतीय प्रधानमन्त्री मोदीसँग अध्यक्ष प्रचण्डको भेटवार्ता

नयाँ दिल्ली, २३ भदौ । भारत भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज दिउँसो भेटवार्ता भएको छ । भेटका अवसरमा मुख्यतः पछिल्लो समयमा भएका दुई प्रधानमन्त्रीका भ्रमणहरु, बिम्स्टेक सम्मेलन, दुई देशका आपसी हित र विकास निर्माणको सम्भावना बारे छलफल केन्द्रित रह्यो ।

नेपालमा हाइड्रो इनर्जीको विकास, हुलाकी मार्गको निर्माण, रेलवे निर्माण, जलमार्ग, कृषिमा आधारित उद्योग र पर्यटन क्षेत्रको विकासको बिषयमा छलफल भएको थियो ।

धार्मिक पर्यटनका लागि नेपाल र भारतमा भएका शक्तिपीठहरुको एक वृहत्तर सर्किट बनाउने बिषयमा र एभरेष्टको पानीलाई मिनरल वाटरको रुपमा विश्वभरी लैजान सहकार्य गर्ने बारेमा पनि छलफल भएको थियो । त्यसैगरी नेपाल भारत सीमामा रहेका समस्याहरुको समाधानका सम्बन्धमा पनि छलफल भयो । सीमा क्षेत्रमा भन्सारहरुको स्तरउन्नतीको बिषयमा पनि चर्चा भएको थियो ।

दुई देशको आपसी हित कसरी सुदृढ गर्ने भन्ने बिषयमा छलफल गर्दै पछिल्लो चरणमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको सन्दर्भमा भएका सकारात्मक समझदारीहरु र सहमतिहरुलाई प्रभावकारी रुपले कार्यान्वयन गर्ने बारेमा छलफल भएको थियो ।

यसका साथै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएर आउनुभएको बेलामा केही सहमतिहरु खास गरी कास्की जिल्लामा पोलिटेक्निकल इस्टिच्युट स्थापनामा भारत सरकारले सहयोग गर्ने भन्ने बिषयमा पनि ठोसरुपमा कुराकानीहरु भए । दुबै नेताहरुबीच झण्डै एक घण्टा भएको छलफल सकारात्मक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो । समग्रमा दुई देशको आपसी सम्बन्धलाई नयाँ उचाईमा उठाउने प्रतिबद्धता र संकल्पको साथ छलफल टुंगिएको थियो ।

विदेश मन्त्री सुषमा स्वराजसँग भेटवार्ता
अध्यक्ष प्रचण्डको भारतीय विदेश मन्त्री सुषमा स्वराजसँग पनि भेटवार्ता भयो । भेटका आवसरमा कम्युनिष्ट पार्टीहरुको एकतासँग सम्बन्धित र दुई तिहाईको सरकार बनेपछि नेपाल भारत सम्बन्धमा भएका विकासका प्रयास बारे कुराकानी भयो ।

भारतीय काँग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री मनमोहन सिंहसँग भेटवार्ता

भारतीय काँग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री मनमोहन सिंहसँग आज दिँउँसो भेटवार्ता भएको थियो । भेटमा मनमोहन सिंह प्रधानमन्त्री हुनुभएका बेलामा भएका समझदारी, छलफल र नेपालमा शान्ति प्रक्रियालाई अगाडि बढाउन उहाँको नेतृत्वको सरकारबाट भएको सहयोगप्रति अध्यक्ष प्रचण्डले धन्यवाद ज्ञापन गर्नुभयो ।

नेपालमा शान्ति प्रक्रिया र संविधान निर्माण भै सकेपछि देश विकास निर्माण तिर ध्यान केन्द्रित गरेकोप्रति नेता सिंहले खुसी व्यक्त गर्नुभयो । सरकारमा नभए पनि नेपालको विकास निर्माणमा आफूहरुको पूर्णतः सहयोग रहने उहाँले विश्वास दिलाउनु भयो ।

कात्तिक ८, २०८१ बिहीबार १४:१५:१८