म सधैं गोविन्द केसीको मागका पक्षमा छु, ‘प्रचण्ड’

श्रावण २९, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सधैं डा. गोविन्द केसीले उठाएका माग र मुद्दाको पक्षमा रहेको बताउनु भएको छ ।
२१ दिनदेखि अनसनमा रहनुभएका डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै अध्यक्ष प्रचण्डलाई भेट्न आएको प्रतिनिधि मण्डलसँग कुराकानी गर्दै उहाँले आफू डा. केसीले उठाएका मागको पक्षमा रहेको बताउनु भएको हो । भेटमा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘काठमाडौं उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नदिने र मनमोहन मेडिकल कलेजलाई सरकारले खरिद गर्नुपर्ने डा. केसीको माग सकारात्मक छ, यसले मेडिकल शिक्षालाई मर्यादित बनाउँछ भन्ने मेरो पनि ठम्याई छ । म प्रधानमन्त्री हुँदा पनि उहाँले उठाएका समस्या सम्बोधन गर्न सकारात्मक कुराकानी भएको हो । तर, कतिपय कानूनी र प्रशासनिक जटिलताका कारण सबै काम सम्पन्न हुन सकेन । अब ऐनमा त्यसबारे ठोस व्यवस्था गरेर डा. केसीलाई आश्वस्त पार्नुपर्छ र अनसन तोडाउनुपर्छ । आज नै ३ बजे यसबारे प्रधानमन्त्रीसँग कुरा गरेर अनसन तोडाउन पहल गर्छु, डा. केसीको अभियानप्रति म पुरै सकारात्मक छु, मेरो तर्फबाट सकारात्मक पहल हुन्छ ।’
भेटमा प्रतिनिधि मण्डलले डा. केसीको स्वास्थ्य अत्यन्त कमजोर हुँदै गएकाले उहाँले उठाएका माग सम्बोधन गरी अनसन तोडाउने पहल गर्न प्रचण्डसँग आग्रह गरेको थियो ।

कात्तिक ९, २०८१ शुक्रबार १६:९:०