मजदूरहरुलाई खोपको अविलम्ब व्यवस्था गर्ने कुरामा पहल गर्छौंः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोभिडका कारणले मजदूरहरुमाथि भएको अन्यायका विरुद्धमा हामीले आवाज उठाउँदै आएको बताउनुभएको छ ।

अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय समिति बैठकलाई सोमबार बिहान सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “मजदूरहरुलाई खोपको अविलम्ब व्यवस्था गर्ने कुरामा आफूहरुको पहल गर्नेछौं र संक्रमितहरुको उपचारमा हुने गरेको विभेद विरुद्धको आन्दोलनलाई पनि हामीले अगाडि बढाइरहेका छौं ।”

अध्यक्षले सरकारले गरेको बेतनवृद्धिको जालझेलप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । अध्यक्ष प्रचण्डले नेपालको क्रान्तिकारी आन्दोलनमा मुख्यतः जनयुद्ध र जनआन्दोलनमा मजदूरमोर्चाको तर्फबाट महत्वपूर्ण भूमिकाको प्रशंसा गर्नुभयो ।

“आउँदा दिनमा नेपालको सामाजिक र क्रान्तिकारी रुपान्तरणको ऐतिहासिक प्रक्रियामा पनि मजदूरहरुको भूमिका त्यसैगरि अगाडि बढ्ने विश्वास व्यक्त गर्न चाहन्छु,” उहाँले भन्नुभयो, “उहाँले मजदूर संगठन व्यवस्थित, संगठित र आन्दोलित संगठन हो ।”

मजदूर वर्गको त्याग र बलिदानबाट प्राप्त उपलब्धीले प्रतिक्रियावादी वर्गलाई क्षति पुर्याएको उहाँको भनाई थियो । आफूहरुले उठाएको मुद्धामा जनताको साथ र समर्थन रहेको बताउनुहुँदै उहाँले तिनै मुद्धाका पक्षमा जनमत कायमै रहेको धारणा राख्नुभयो । अध्यक्ष प्रचण्डले इतिहास र जनताले नेता बनाउने उल्लेख गर्दै वर्ग संघर्ष र आन्दोलनको बीचबाट जनताले नेता तयार पार्ने बताउनुभयो ।

कात्तिक ७, २०८१ बुधबार ७:२६:२४