मधेस समुदायको माग सम्बोधन गर्न सम्भव छ– अध्यक्ष प्रचण्ड

बिराटनगर, असार ४ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले मधेशी समुदायको मागलाई सम्बोधन गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको बताउनुभएको छ ।
प्रदेश नम्बर १ को एकता भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन शनिबार बिहान बिराटनगर आइपुग्नु भएका अध्यक्ष प्रचण्डले बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय सरकारको आवश्यकतामा जोड दिनुभएको हो ।

“मधेसी समुदायको मागलाई सम्बोधन गर्न सम्भव छ । योलगायत देशका सामु देखिएको समस्या समाधान गर्न राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता हो” अध्यक्ष प्रचण्डले भन्नुभयो । राष्ट्रिय सहमतिका लागि सबै दलहरुबीच राष्ट्रिय एकताको खाँचोमा वहाँले जोड दिनुभयो ।

अध्यक्ष प्रचण्डले निर्वाचनका लागि समेत राष्ट्रिय एकताको आवश्यकता रहेकोमा जोड दिनुभयो । निर्वाचन गर्नुपर्छ भन्नेमा हामी सहमत छौं भन्नुहुँदै अध्यक्ष प्रचण्डले निर्वाचनको कार्यतालिकाबारे भने निर्णय नभएको बताउनुभयो । स्थानीय निकायका संरचना निर्धारण गर्न गठित आयोगले तयार पारेपछि राष्ट्रिय एकताका आधारमा अन्य निर्णय गर्नुपर्ने वहाँले बताउनुभयो ।

अध्यक्ष प्रचण्डले देशका सामु देखिएका जटिल समस्याहरु हल गर्न एउटासँग मिलेर अर्कोलाई पेल्ने सोचले समस्याको हल गर्न नसक्ने समेत स्पष्ट पार्नुभयो ।

कात्तिक ८, २०८१ बिहीबार २३:२०:१९