मन्त्रिपरिषद्को नियमित बैठक सम्पन्न

माघ ६, काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले महत्वपूर्ण निर्णयहरु गरेको छ ।
आजको बैठकले सामाजिक संरक्षण र व्यक्तिगत घटना दर्ता कार्यक्रमको सवलीकरणका लागि विश्व बैंकले दिने १६ अरब ३७ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । बैठकले राष्ट्रिय किसान आयोग गठन गर्ने, प्राविधिक प्रमूख सेनानी खुमबहादुर कुंवरलाई प्राविधिक महासेनानीमा बढुवा गर्ने निर्णय गरेको छ । त्यस्तै २०७१ सालको बाढी पहिरोबाट क्षतिग्रस्त बाँके, बर्दिया, दाङ्, सुर्खेत लगायतका जिल्लामा नीजि आवास पूनर्निर्माणका लागि अनुदान वितरण कार्यविधि, २०७३ लाई स्वीकृत गरेको छ ।
बैठकले रेडियो नेपालको कार्यकारी निर्देशकमा सुरेशकुमार कार्कीलाई नियुक्त गरेको छ । त्यस्तै बैठकले नेपाल टेलिकम प्राधिकरणमा रिक्त रहेका २ सदस्य पदपूर्तिका लागि सञ्चार सचिवको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
त्यसैगरी आजको बैठकले कानुनी क्षेत्रका विभिन्न पदमा नियुक्ति र पदोन्नतिको निर्णय गरेको छ । बैठकले काभ्रेमा हत्या गरिएका अजित मिजार र लक्ष्मी सुनारको छानविन र सहयोगको लागि मन्त्री दलजित श्रीपाइलीको नेतृत्वमा एक समिति गठन गरेको सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो ।

कात्तिक ७, २०८१ बुधबार ९:९:३२