महङ्गी र कालोबजारी रोक्न निर्देशन दिएको छु, ‘प्रधानमन्त्री’

श्रावण २६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महंगी, कालोबजारी र अनियन्त्रित बजार अनुमगन गर्न मातहतका निकायलाई निर्देशन दिएको बताउनुभएको छ ।
बुधबार बालुवाटारमा भएको रिपोटर्स् क्लवका प्रतिनिधि मण्डलसँगको कुराकानीमा प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘महंगी बढेको, बजार अनियन्त्रित रहेको र कालोबजारी समेत बढेको कुराप्रति मेरो गम्भीर ध्यान गएको छ । मैले यसलाई नियन्त्रण गर्न र जनतालाई तत्काल राहत पुग्ने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको छु ।’
प्रधानमन्त्रीले आर्थिक विकास र समृद्धिका लागि तात्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्ने गृहकार्य गरिरहेको पनि पत्रकारहरुलाई जानकारी दिनुभयो ।
अहिलेको चुनौति र अवसरपूर्ण क्षणमा दोस्रोपटक प्रधानमन्त्री भएकाले संविधान कार्यान्वयनसँगै आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्ने आफ्नो मूख्य जोड रहेको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘विगतका तीता मिठा अनुभवबाट निष्कर्ष निकालेर परिणाममूखी काम गर्नेछु । आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै सहमतिको वातावरण निर्माण गरी संविधान कार्यान्वयन, समयमै चुनाव सम्पन्न गर्ने र पूनर्निर्माणको कामलाई तिब्रता दिनेछु ।’
भेटमा क्लवका अध्यक्ष ऋषि धमलाले बधाई ज्ञापन गर्दै प्रधानमन्त्रीले अघि सारेको कार्ययोजनामा सञ्चार क्षेत्रको पूर्ण सहयोग र साथ रहने बताउनु भएको थियो ।

कात्तिक ७, २०८१ बुधबार २१:१६:२९