महत्वपूर्ण निर्णय गर्दै मन्त्रीपरिषद्को बैठक सम्पन्न

असोज ६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।
बिहीबार सम्पन्न मन्त्रीपरिषद् बैठकले बरिष्ठ कृषि अर्थ विशेषज्ञ डा. प्रद्युम्नराज पाण्डेलाई सार्कको कार्यालय ढाकामा काजमा पठाउने निर्णय गरेको छ । त्यसैगरी बैठकले आगामी २ वर्षभित्रमा मुक्त हलिया पूनस्र्थापनाको काम गरिसक्ने निर्णय गरेको छ ।
बैठकले अल्ट्रा म्याराथुन धाबिका भोजपुरकी मीरा राईलाई उपचारार्थ सरकारले ५ लाख सहयोग प्रदान गर्नेद निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिनुभयो ।
कार्कीका अनुसार हुलाक सेवाका निम्न बेतनभोगी कर्मचारीहरुको तलब अन्य सेवाका कर्मचारी सरह साउनदेखि लागु हुने गरी वृद्धि गर्ने निर्णय भएको छ । बैठकले उच्च अदालत स्थापना भएका ठाउँहरुमा उच्च सरकारी वकिलको कार्यालय स्थापना गर्ने, विश्व बैंकको दक्षिपूर्वी शाखामा काम गर्नका निम्ति अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय सहायता शाखामा उपसचिव प्रेमनाथ उपाध्यायलाई कार्यकारी निर्देशकको सल्लाहकारको रुपमा पठाउने, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र सहअनुसन्धान निर्देशक रामबहादुर कार्कीलाई अनुसन्धान निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको छ ।
बैठकले गृह मन्त्रालयअन्तर्गत सशस्त्र प्रहरी बल प्रधान कार्यविभागमा कार्यरत २ जना अतिरिक्त महानिरीक्षकहरुको सरुवा गरेको छ । त्यसैगरी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनाललाई सशस्त्र प्रहरी बल प्रधान कार्यालय मानव स्रोत विभागमा र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक जीतबहादुर पुनलाई सशस्त्र प्रहरी बल महानगरीय सशस्त्र प्रहरी बलमा पदस्थापना गर्ने पनि बैठकले निर्णय गरेको छ ।
आजको बैठकले मधेश आन्दोलनका क्रममा घाइते भएकाहरुको विभिन्न अस्पतालमा भएको १ करोड ४० लाख उपचार खर्च सरकारले बेहोर्ने र नेपाल टेलिकमको कार्यकारी निर्देशकमा कामिनी राजभण्डारीलाई नियु्क्त गर्ने निर्णय गरेको छ ।

कात्तिक ७, २०८१ बिहीबार ४:१५:४५