माओवादी आफ्नै बलबुतामा आसन्न निर्वाचनमा पहिलो शक्ति बन्छः अध्यक्ष प्रचण्ड

पाेखरा । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी आफ्नै बलबुतामा आसन्न निर्वाचनमा पहिलो शक्ति बन्ने बताउनुभएको छ । प्रेस सेन्टर गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले गठबन्धनको बैशाखी टेकेर नभई आफ्नै शक्ति, संगठन र मुद्धाका आधारमा माओवादीले निर्वाचन लड्ने तयारी गरेको उहाँले उल्लेख गर्नुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो,“ देशव्यापीरुमा माओवादीप्रति सकारात्मक जनमत बढ्दै गएको छ, कार्यक्रमहरुमा उभार देखिएको छ । केही समयपछि अन्य पार्टीहरु माओवादीसँग तालमेलका लागि आउने परिस्थिति आउँदैछ माओवादी जाने होइन । माओवादी पहिलो शक्ति बन्ने सम्भावना देखिएको छ ।”

उहाँले केही दिनअघि एक कार्यक्रममा आफूले राजनीतिक र सैद्धान्तिक रुपमा एमालेसँग गठबन्धन हुन्छ भने पनि तत्कालका लागि भने गठबन्धन सम्भव नभएको उल्लेख गर्नुभयो । अध्यक्ष प्रचण्डले आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने र निर्वाचनका बारेमा कुनै पनि दुविधा नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कतिपय वृत्तमा अझै पनि निर्वाचन के हुन्छ भन्ने छ । निर्वाचन तोकिएको मितिमै हुन्छ, सम्पूर्ण रुपले निर्वाचन प्रक्रियामा सामेल हुन र तयारीमा लाग्न सबैमा म अपील गर्दछु ।” स्थानीय तहको निर्वाचनलाई के गरेर माओवादीले प्रदेशस्तरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम अघि बढाएको बताउँदै निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

कात्तिक ७, २०८१ बुधबार १७:१०:८