माओवादी एकताले जनतामा उत्साहः अध्यक्ष प्रचण्ड

काठमाडौ, १४ जेठ । अध्यक्ष प्रचण्ड पार्टी एकताले राष्ट्रिय अन्तराष्ट्रियरुपमा  माओवादी पार्टीहरुको एकताले नयाँ उत्साहको सञ्चार भएको बताउनु भएको छ । उहाँले जनतामा उत्साहसँग प्रतिकृयावादी वृत्तमा खल्वली मच्चिएको बताउनुभयो । शुक्रवार पेरिसडाँडामा क्रान्तिकारी पत्रकार संघका नेता तथा कार्यकर्तासँगको भेटघाट तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

क्रान्तिलाई नयाँ उचाइमा उठाउनकालागि क्रान्तिकारी बीचको एकता अपरिहार्य भएको सन्दर्भ उठाउँदै उहाँले भन्नुभयो—‘यो एकता एक पक्षको जीत र अर्को पक्षको हार कदापी होइन ।’ अध्यक्ष प्रचण्डले अगाडि भन्नुभयो —‘हामी सबै पक्षका क्रान्तिकारीहरु एकढिक्का भएर मात्र जनयुद्धका उपलब्धीको रक्षा र विकास गर्न सक्नेछौं ।’

यो एकताले विरोधीहरुको पैताला मुनिको जमिनमा पहिरो गएको बताउँदै अध्यक्ष प्रचण्डले नेपाल अहिले इतिहासकै गम्भिर मोडमा पुगेको र राष्ट्रको एकता र समृद्धिको लागि  परिवर्तनका पक्षधरहरु एकै ठाँउ उभिनुपर्ने भएकोले आफूहरुको बिचमा एकता गर्नुपरेको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेता रामबहादुर थापा बादलले पार्टी एकता समयको आवश्यकता र अपरिहार्यता भएको बताउनुभयो । जनताका आकांक्षा र आवाजलाइ सम्बोधन गर्नको लागि, इतिहासका अभिभारा पुरा गर्नको लागि र क्रान्तिकारीमा आत्मविश्वास पैदा गर्नको लागि एकतामा हाम फालिएको उहाँको भनाइ थियो ।

संकटको वेलामा क्रन्तिकारी सिद्धान्तको रक्षाको लागि र बिरोधीबाट आउने प्रहारको लागि पाटी एकता गरिएको जिकिर गर्दै नयाँ चिजको विकाश गर्ने नाममा सिद्धान्त नै छोडेर हिंडेकोमा बावुराम भट्टराइलाइ इतिहासले कहिल्यै माफी नदिने थापाको टिप्पणी थियो ।
कम्युनिष्ट पार्टीहरु किन फुटिरहन्छन र फुट्नकै लागि किन कम्युनिष्ट पार्टीहरु जन्मिरहन्छन भन्ने प्रश्नको गतिलो जवाफ दिनको लागि आफूहरुले पार्टी एकता गरेको र यो एकताले शहीद, बेपत्तापरिवार, पार्टी कार्यकर्ता र क्रान्तिकारी जनताहरु असाध्यै खुशी भएको  थापाको तर्क थियो ।

कार्यक्रमको शुरुवातमा क्रान्तिकारी पत्रकार संघका संस्थापक सदस्य ओम शर्मा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष खिलबहादुर भण्डारी, पत्रकार राजु लामा लगायतले अहिलेको सन्दर्भमा क्रान्तिकारी पत्रकारको भुमिका कस्तो हुने भनेर जिज्ञासा राख्नुभएको थियो । कार्यक्रमको संचालन पार्टी प्रबक्ता पम्फा भुसालले गर्नुभएको थियो ।

RJA_CMPrachanda-073-02-14 (5)RJA_CMPrachanda-073-02-14 (2)RJA_CMPrachanda-073-02-14 (4)RJA_CMPrachanda-073-02-14 (1)RJA_CMPrachanda-073-02-14 (3)

कात्तिक ६, २०८१ बुधबार ५:८:९