माओवादी केन्द्र पहिलो हुने आधार र सम्भावना छ, ‘प्रचण्ड’

काठमाडौँ, १६ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले प्रदेश नं.–२ मा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने आधार, पृष्ठभूमि र सम्भावना रहेको बताउनुभएको छ ।
स्थानीय तह निर्वाचनको तेस्रो चरणको पूर्व सन्ध्यामा आज धनुषाको जनकपुरधाममा आयोजित पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँदै उहाँले पार्टीलाई पहिलो पार्टी बनाउन निर्वाचन अभियानलाई युद्धस्तरमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘भ्रम चिरियो र सत्य स्थापित भयो भने माओवादीले जित्छ । अरु पार्टीहरुले भ्रमको खेती गरेका छन् । तर, माओवादीले आफूलाई काममा खरो प्रमाणित गरिसकेको छ ।’
अध्यक्ष प्रचण्डले अगाडि भन्नुभयो, ‘हिटलर राष्ट्रवादको नारा दिएर नै जर्मनीको सत्तामा हाबी भयो । नश्लवादी राष्ट्रवादले अन्ततः जाति जातिलाई लडाउँछ र राष्ट्रिय एकतालाई कमजोर बनाउँछ । अन्धराष्ट्रवाद अन्तिममा फासीवादमा बदलिन्छ, नेपालमा पनि यो अभ्यास गर्न खोजिएको छ ।’
माओवादी केन्द्र नश्लवादी, जातिवादी र अन्धराष्ट्रवादी नभएको स्पष्ट पार्नु हुँदै प्रचण्डले आफूहरुले उत्पीडितहरुको बलियो एकतामार्फत् राष्ट्रिय एकता र सद्भाव स्थापित गर्न चाहेको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘मधेशी राष्ट्रवाद र पहाडे राष्ट्रवादका नाममा हिटलरहरु जन्मन खोज्दैछन् । उनीहरु एउटा जातिलाई काखी च्यापेर अरु जातिमाथि छुरा हान्न खोजिदैछ । त्यो हामीलाई सह्य छैन ।’
हामीले उठाएको जातीय मुक्तिको नारा हिमाल, पहाड र तराई–मधेशका गरीब र उत्पीडितहरुलाई एकताको एउटै सुत्रमा बाँध्ने नारा रहेको भन्दै उहाँले एमाले र मधेशी दलले लिएजस्तो जाति जाति भिडाउने नारा नभएको बताउनुभयो ।
मधेशी जनताको मुक्तिका लागि १३०० जनाले सहादत गरेको स्पष्ट पार्दै उहाँले मधेशको अधिकारका लागि लड्ने एक मात्र पार्टी माओवादी केन्द्र मात्रै भएको उल्लेख गर्नुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘मेरो प्रधानमन्त्रीकाल नै हिमाल, पहाड र तराई मधेशलाई एकताको सुत्रमा बाँध्ने र राष्ट्रिय एकता हासिल गर्ने सफल कार्यकाल हो ।’
माओवादी भनेको ध्वस्त गर्ने, भत्काउने, बिगार्ने पार्टी नभएको भन्दै उहाँले ‘कसैले त्यस्तो सोच्छ भने त्यो भ्रम हो । विकास, समृद्धि र उज्यालो नेपालको अभियानले त्यसलाई पुरै खारेज गरिदिएको’ स्पष्ट पार्नुभयो ।
‘संविधानमा हामीले प्राप्त नगरेका कुरा छोडेका छैनौ । हामी हाम्रा मुद्दाका पक्षमा निरन्तर लडिरहन्छौं’ उहाँको कथन थियो । लोडसेडिङको अन्त्य, २५ वर्षपछि आर्थिक वृद्धिदर ७ प्रतिशतको हाराहारीमा पुग्नु, हुलाकी राजमार्ग, फास्ट ट्रयाक निर्माण, महाकाली नदीमा पुल निर्माण र राष्ट्रिय गौरवका आयोजनामा तिब्र प्रगति जस्ता महत्वपूर्ण काम इतिहासले कहिल्यै भूल्न नसक्ने उपलब्धि’ रहेको उहाँको भनाइ थियो ।
अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामीले बासमति चामल फलायौं । तर, बेच्न नै लगेनौ, घरमै पोको पारेर राख्यौं । तर, प्रतिगामीहरु कुहेको पिठो बोकेर घरघर गए । अब हामी चामल बेच्न घरघर जाऔं । कुहेको किरा परेको कांग्रेस, एमालेको पिठो बिक्न नदिउँ ।’
उहाँले एमालेलाई मधेशी, जनजातिको अधिकार, संघीयता, गणतन्त्र र नयाँ संविधान मन नपरेको भएपनि बाध्यतावश स्वीकार गरेकाले उनीहरु बलिया भए भने परिवर्तन उल्टाउँने चिन्ता व्यक्त गर्नुभयो ।
अध्यक्ष प्रचण्डले जोड दिदै भन्नुभयो, ‘माओवादी फुट्दा जनता रोएका छन् । जनताको त्यत्रो अपेक्षा थियो । तसर्थ, सबै माओवादीमा अब जुट्ने बुद्दि आउनुपर्छ’ । उहाँले थप जोड दिनुभयो, ‘प्रचण्डले पार्टी बिघटनको प्रस्ताव गर्याे भनेर हल्ला गर्दैछन् । पार्टी बिघटन कल्पना नगर्दा पनि हुन्छ । तर, पार्टीका गलत संस्कृति र प्रवृत्ति भने बिघटन गर्नुको बिकल्प छैन ।’
अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमूखको मुद्दा लिएर जनतामा जाने सो नाराको व्यहारिक कार्यान्वयन र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्रै देशको स्वाधिनता जोगाउन, राष्ट्रिय एकता बलियो बन्ने स्पष्ट पार्नुभयो ।
नेता नारायणकाजी श्रेष्ठ प्रकाशले संविधान कार्यान्वयनको प्रक्रिया सफल पार्न असोज २ गते २ नम्वर प्रदेशमा निर्वाचन हुन लागेको र नेपालको स्वाधिनता र भौगोलिक अखण्डताको पक्षमा सबैभन्दा बढी त्याग र बलिदान मधेशी जनताले गरेका छन् भन्नुभयो । नेता प्रकाशले भन्नुभयो, ‘नेपालमा गणतन्त्र, संघीयता, नयाँ संविधान लगायतका जुन परिवर्तन हासिल भएका छन्, यसको एक मात्र हकदार माओवादी केन्द्र हो ।’
पार्टीका अर्का नेता रामबहादुर थापा बादलले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देश भएकाले एकल जाति, भाषा, लिङ्ग र क्षेत्रको निरङ्कुश सत्ता ढालेर जनताको संघीय गणतन्त्र स्थापना गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रदेश नं. २ सामन्तवादको गढ हो, जमिन्दारहरुको बोलवाला छ, माओवादीले जिते मात्र यसलाई बदल्न सकिन्छ । क्रान्तिकारी उपलब्धिहरुको रक्षा गर्न माओवादी उम्मेदवारहरुले जित्न जरुरी छ ।’
कार्यक्रममा गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, प्रभु साह, उर्मिला अर्याल, विश्वनाथ साह, प्रल्हाद बुढाथोकी, रामकुमार यादव, भरत साह, डाचाराज वाग्लेलगायतको सहभागिता थियो । कार्यक्रममा पार्टी महाधिवेशन आयोजक समिति सदस्यहरु सहित स्थानीय नेता तथा कार्यकर्ता गरी करिब १००० जनाको सहभागिता रहेको थियो ।
प्रशिक्षणमा ८ जिल्लाका संयोजकहरुले रिपोर्ट प्रस्तुत गर्नुभएको थियो । त्यसमा मूख्य प्रतिस्पर्धी कांग्रेस रहेको केही स्थानमा मधेशवादी दल र एमाले प्रतिस्पर्धी, मधेशमा माओवादी केन्द्रमा पार्टी प्रवेशको लहर बढेको आन्तरिक मतभेद सम्बोधन गरे २ नम्वर प्रदेशमा पहिलो हुने रिपोर्ट प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य रामचन्द्र मण्डल, नयाँ शक्ति नेपालका नेता विजयकुमार साह लगायत विभिन्न पार्टी परित्याग गरि ३०० जना नेता, कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो । नवप्रवेशीलाई अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले स्वागत गर्नुभएको थियो ।

कात्तिक ८, २०८१ बिहीबार २२:१३:५५