माओवादी केन्द्रको प्रमूख सचेतकमा बस्नेत

भदौ २४, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको प्रमूख सचेतकमा सांसद टेकबहादुर बस्नेत चयन हुनुभएको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री तथा दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न दलको बैठकले बस्नेतलाई प्रमूख सचेतकमा चयन गरेको हो । बैठकले प्रधानमन्त्री तथा दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपनेता टोपबहादुर रायमाझी, प्रमूख सचेतक टेकबहादुर बस्नेत, सचेतक सीता नेपाली, सांसदहरु गीरिराजमणि पोखरेल, हरिबोल गजुरेल, अग्निप्रसाद सापकोटा, शक्ति बस्नेत, प्रभू साह, गणेशमान पुन, रेखा शर्मा, रामनारायण बिडारी, सन्तु दराई, शिबकुमार मण्डल रहेको संसदीय बोर्ड गठन गरेको छ ।
बैठकले संसदीय बोर्डको कार्यविभाजन पनि गरेको छ । बैठकले सांसद बस्नेतलाई प्रमूख सचेतक, सांसद रामनारायण बिडारीलाई बोर्ड सचिवको जिम्मेवारी दिएको छ । त्यसै गरी सांसद अग्निप्रसाद सापकोटालाई संसदीय सुनुवाई समिति, प्रदेश संयोजकको जिम्मेवारी १ नं. मा शिबकुमार मण्डल, २ नं. मा रामसिंह यादव, ३ नं. मा सन्तु दराई, ४ नं. मा कृष्ण धिताल, ५ नं. मा डोरप्रसाद उपाध्याय, ६ नं. मा महेन्द्रबहादुर शाही र ७ नं. मा हरिलाल ज्ञवालीलाई दिने निर्णय बैठकले गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय, प्रादेशिक र संघीय निर्वाचनसम्म वर्तमान गठबन्धन कायम रहने जानकारी गराउँदै दलको भूमिका प्रभावकारी बनाउन सांसदहरुलाई निर्देशन दिनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘तीन वटै निर्वाचन सम्पन्न गरिञ्जेलसम्म हामी सरकारमा हुन्छौं । त्यसैले दलको कामलाई प्रभावकारी बनाएर जानुपर्छ ।’ प्रधानमन्त्रीले सरकारले दलीय ध्रुवीकरण घटाएको जानकारी दिँदै भन्नुभयो, ‘देश डरलाग्दो ध्रुवीकरणमा जाने खतरा थियो । सरकारले आन्तरिक राष्ट्रिय सम्बोधन गरेर बलियो राष्ट्रिय एकताको आधार तयार पारेको छ ।’ प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण कुटनीतिक सन्तुलन र सम्बन्धमा केन्द्रित हुने जानकारी गराउँदै दुई छिमेकी देशबाट उच्चस्तरीय भ्रमण हुने तयारी भइरहेको संसदीय दललाई जानकारी गराउनुभयो ।

असोज ६, २०८१ आइतबार २३:१३:५३