माओवादी केन्द्रको बैठकमा प्रधानमन्त्रीको भ्रमणको समीक्षा

असोज ४, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सोमबार लाजिम्पाटमा सम्पन्न केन्द्रीय कार्यालयको बैठकले भारत भ्रमणको समीक्षा गरेको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमणको समीक्षा गरेको हो । बैठकका निर्णयबारे जानकारी दिँदै पार्टी प्रवक्ता पम्फा भुसालले भन्नुभयो, ‘हिजो पार्टी अध्यक्षले भारत भ्रमणबारे बिफ्रिङ गर्नुभयो । बैठकले भारत भ्रमण फलदायी भएको निष्कर्ष निकाल्यो । आज केन्द्रीय कार्यालयका सदस्यहरुले भ्रमणबारे आफ्नो प्रतिक्रिया राख्नुभयो ।’
प्रवक्ता भुसालका अनुसार बैठकले ‘प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच न्यानो सम्बन्ध विकास भएको, नेपाली र भारतीय जनताको सम्बन्धमा थप सुदृढ भएको, भुटान र बंगलादेशमा समेत नेपालले खुल्ला व्यापार गर्ने गरी खुल्ला मार्केटको अवधारणामा पिटिए भएको, भूकम्पको पूनर्निर्माणमा भारतले थप सहयोगको घोषणा गरेको, नेपालको संविधानबारे भारतले सकारात्मक धारणा सार्वजनिक गरेको’ विषयलाई भ्रमणका मूख्य उपलब्धिको रुपमा निष्कर्ष निकालेको छ ।
केन्द्रीय कार्यालयको अर्को बैठक असोज ५ गते बिहान ११ बजे लाजिम्पाटमा प्रधानमन्त्रीका प्रमूख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले जानकारी दिनुभयो ।

कात्तिक ७, २०८१ बुधबार ११:१०:२४