माओवादी केन्द्रको हेडक्वार्टर बैठक सम्पन्न

फागुन २१, काठमाडौं । ने.क.पा. (माओवादी केन्द्र) को हेडक्वार्टर बैठक शनिबार सम्पन्न भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले सरकारलाई विभिन्न सुझावहरु दिएको छ ।
बैठकले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेको सन्दर्भमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित गराई निर्वाचनको सहज वातावरण बनाउन प्रमूख प्रतिपक्षी, मधेशी मोर्चा, राप्रपा, फोरम लोकतान्त्रिक लगायतका दलहरुसँग सम्वाद जारी राख्न सरकारलाई सुझाव दिएको छ ।
बैठकले स्थानीय तहको पूनर्संरचनाबारे सुझाव दिन मन्त्रीपरिषदले गठन गरेको कार्यदलको रिपोर्ट बुझ्न सरकारलाई बुझाएको छ । त्यसैगरी स्थानीय तहको संख्या बढाएर भए पनि मधेशी मोर्चालाई पनि निर्वाचनमा सहभागिताका लागि अधिकतम् पहल गर्न बैठकले सरकारलाई सुझाव दिएको छ ।
बैठकले निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित, भयरहित बनाउन र स्थानीय तहको निर्वाचनमा होमिन सम्पूर्ण राजनीतिक दललाई अपील गर्दै आन्दोलनरत मधेशी मोर्चालाई आफ्ना माग शान्तिपूर्ण र लोकतान्त्रिक तरिकाले राख्न आग्रह गरेको माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

कात्तिक ७, २०८१ बुधबार १५:१३:३४