माओवादी प्रशिक्षणमा प्रचण्डको आब्हान, ‘परिवर्तन जोगाउन जनतामा जाऔं’

मंसीर २७, काठमाडौं । प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानले संस्थागत गरेका परिवर्तनका मुद्धाहरु जोगाउन जनतामा जान नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
सोमबार ने.क.पा. (माओवादी केन्द्र) प्रदेश नम्वर तीनका नेता, कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले भन्नुभयो, ‘अहिले विभिन्न गिरोहको सहयोगमा माओवादी विरुद्ध आन्दोलनको षड्यन्त्र हुँदैछ । संघीयता, गणतन्त्र, समावेशिता जस्ता मुद्धाका विरुद्ध केही दल र नेताहरु लागेका छन् । हिजो उनीहरुले हृदयदेखि नै परिवर्तन स्वीकारेका थिएनन्, जनयुद्धको राप र तापका कारण बाध्यतावश मानेका थिए । आज माओवादी आन्दोलन केही कमजोर भएको देखेर यी सबै उपलब्धिलाई उल्टाउन खोजिँदैछ । त्यसका लागि जनतालाई भ्रम पार्न खोजिँदैछ । त्यसैले परिवर्तनलाई जोगाउन अब हामी सबै जनतामा जाऔं ।’
पोलिट्ब्यूरो बैठकले संगठनको गतिरोध चिरेकोमा जोड दिँदै प्रशिक्षणमा प्रचण्डले भन्नुभयो, ‘भर्खरै सम्पन्न पोलिट्ब्यूरोको बैठकले संगठनात्मक गतिरोध चिरेको छ । अब अधिवेशनमार्फत् व्यवस्थित संगठनको जग बसाल्नेतिर हाम्रो ध्यान केन्द्रित गरौं । अभियान बनाएर जनतामा जाऔं । सबैको मूल्याङ्कन अभियान र जनसेवाले गर्छ । यसले जनतामा नयाँ आशा र माओवादी आन्दोलनमा एकताको वातावरण पनि बन्नेछ ।’
माओवादीहरुबीच फेरि पनि एकताको आधारमा बन्दै गएको भन्दै प्रचण्डले थप्नुभयो, ‘माओवादीहरु बिभाजित हुँदा प्रतिगामीले टाउको उठाए, अब नयाँ शिराबाट माओवादी आन्दोलन ध्रुवीकरण हुन्छ । त्यसको गृहकार्य भइरहेको छ । तपाईहरु पनि जनतामा गएर एकता र जनसेवाको वातावरण निर्माण गर्नुहोस् ।’ प्रशिक्षण कार्यक्रममा बैशाखको पहिलो हप्ताभित्रै स्थानीय निर्वाचन गर्ने तयारीमा सरकार रहेको प्रचण्डले बताउनुभयो ।
प्रशिक्षणमा माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, रामबहादुर थापा ‘बादल’, वर्षामान पुन ‘अनन्त’, हरिबोल गजुरेल, अग्नि सापकोटा, दिनानाथ शर्मा, हितमान शाक्य, पम्फा भुसाल, लोकेन्द्र बिष्ट लगायतको उपस्थिति थियो ।

कात्तिक ७, २०८१ बुधबार १७:१०:२३