माक्र्सवादका आधारभूत सिद्धान्त नमान्ने माक्र्सवादी होइनन्, ‘प्रधानमन्त्री’

पुस ११, काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माक्र्सवादका आधारभूत सिद्धान्तको रक्षा गर्न नसक्नेहरुले आफूलाई माक्र्सवादी भनिरहन जरुरी नभएको बताउनु भएको छ ।
सोमबार दिउँसो काठमाडौंको राष्ट्रिय नाँचघर जमलमा आयोजित कार्ल माक्र्स द्वीशतवार्षिकी समारोह, राष्ट्रिय भेलामा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘माक्र्र्सवादको रक्षा, प्रयोग र विकास अहिलेको आवश्यकता हो । माक्र्सवादका आधारभूत सिद्धान्त परित्याग गर्नेहरुले आफूलाई माक्र्सवादी भन्ने अधिकार छैन ।’
प्रधानमन्त्रीले निरन्तर गति र परिवर्तनको प्रवाहमा रहेको समाजमा माक्र्सवादको प्रयोग सिर्जनात्मक ढंगले गरिनुपर्ने कुरामा जोड दिँदै यसका वैज्ञानिक प्रस्तावनाहरुको सार्वभौमिकताको तोडमोड होइन, स्वीकार गरेर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले सामाजिक वर्ग संघर्ष, विचारको बहस र विज्ञानको प्रयोगका क्रममा माक्र्सवादको जन्म भएको बताउँदै क्रान्ति, बिद्रोह र सर्वहारा वर्गको अधिनायकत्व जस्ता माक्र्सवादका आधारभूत सिद्धान्त परित्याग गर्नेहरु सच्चा माक्र्सवादी हुनै नसक्ने स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्रीले माक्र्सवादको जन्मयताका करिव २०० वर्षका मानव जातिको इतिहासमा ठूला ठूला क्रान्ति, विद्रोह र परिवर्तन भएका उदाहरण प्रस्तुत गर्दै अन्यायका विरुद्ध विद्रोह गर्नु जनताको अधिकार हो भन्ने माक्र्सवादी मान्यताकै आधारमा क्रान्ति र परिवर्तन सम्भव भएको कुरामा जोड दिनु भयो ।
प्रधानमन्त्रीले नेपालमा विगत ७० वर्षयता कांग्रेस, एमाले र माओवादी केन्द्र जस्ता प्रमुख राजनीतिक पार्टीको नेतृत्वमा सशस्त्र संघर्ष भएको दृष्टान्त प्रस्तुत गर्दै भन्नुभयो, ‘सशस्त्र संघर्षबिना अहिलेको राजनीतिक परिवर्तन सम्भव हुदैनथ्यो । राजनीतिक परिवर्तनका लागि हतियार उठाउन नसक्ने पार्टीहरु अहिले नाम मात्रका छन् ।’
प्रधानमन्त्रीले नेपालका कम्युनिष्टहरुले गहन वैचारिक छलफल र बहसका बीचबाट साझा निष्कर्ष निकाल्नुपर्ने कुरामा जोड दिँदै अगाडि भन्नुभयो, ‘साझा निष्कर्षमा पुगेर शक्तिशाली कम्युनिष्ट आन्दोलन सुष्टि गर्न अब ढिलाई गर्नु हुँदैन ।’

कात्तिक ७, २०८१ बुधबार ९:११:४०