‘मार्क्सवादलाई गति र सृजनामा बुझिनुपर्छ भनेर पार्टी एकता भएकाे हाे’

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सङ्कीर्णता, आग्रह र पूर्वाग्रहमा होइन, गति र सृजनामा मार्क्सवादलाई बुझिनुपर्छ भन्ने मान्यताका साथ पार्टी एकता भएकाे बताउनुभएकाे छ । मदन भण्डारीको ६८ औं जन्मदिवसका दिन मदन भण्डारी फउन्डेसनले आयोजना गरेको कार्यक्रममा बाेल्दै उहाँले भन्याेभयाे, ‘दुईटै धाराहरू अन्ततः शान्तिपूर्ण र बहुदलीय प्रतिस्पर्धामार्फत निर्वाचनको प्रक्रियाबाट सरकारको नेतृत्व गर्दै समाजवादको आधार तयार पार्ने भन्ने कुरामा एक ठाउँमा आएका हाैं ।’

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनले ठूल्ठूला धक्का खान थालेका बेला, नेपाल जस्तो देशमा कम्युनिष्ट आन्दोलनको रक्षा कसरी गर्नेभन्ने बारेमा आफ्नो गतिशील बुझाइ र सृजनशील मानसिकतासहित मदनभण्डारीले शान्तिपूर्ण र प्रतिस्पर्धाको माध्यमबाट आफूलाई खरो उतार्ने र त्यसको निम्ति जनताको बहुदलीय जनवाद (जबज) लाई कार्यक्रमको रूपमा अगाडि सार्नुभएकाे उहाँकाे भनार्इ थियाे ।

उहाँले भन्नुभयाे, ‘उहाँ देशकाल परिस्थिति अनुसार आफूलाई बदल्न पनि तयार हुनुहुन्थ्यो । आफ्ना नीति, योजना र कार्यक्रमलाई विकसित गर्न र बदल्न पनि तयार हुनुहुन्थ्यो । यस अर्थमा मदन भण्डारी अरू नेताभन्दा भिन्न हुनुभयो । यसकारण उहाँ हामी सबैको निम्ति श्रद्धा र सम्मानको पात्र बन्नुभयो, राष्ट्रिय र अन्तर्रािष्ट्रयरूपमा राजनीतिक एवम् कम्युनिष्ट आन्दोलनमा उहाँ स्थापित हुनुभयो।’

उहाँले कसैले पनि अब कुनै आग्रह–पूर्वाग्रह राख्न जरूरी नभएकाे बताउनुहुँदै यसमा कुनै अप्ठेरो मान्नुपर्ने कुरा नभएकाे बताउनुभयाे । ‘मदन भण्डारीको त्यो प्रवृत्तिप्रति सम्मान मात्रै होइन, त्यसलाई आत्मसात गर्ने । उहाँको सोँच्ने, काम गर्ने, विचार निर्माण गर्ने, नीति–योजना–कार्यक्रम विकास गर्ने तरिका र त्यो तरिका अनुसार आफूलाई ढाल्ने । त्यसो भएपछि अब राष्ट्रलाई एकता कसरी दिने, राजनीतिक स्थायित्व कसरी दिने, विकास र समृद्धिको जनताको आकांक्षालाई कसरी सम्बोधन गर्ने भन्दा हामीले यो बाहेक अर्को विकल्प छैन भन्ने ठाउँमा आफूलाई पायौं, ‘उहाँले भन्नुभयाे ।

उहाँले गतिशीलता, सृजनशीलता, राष्ट्र र जनताको नयाँ आवश्यकतालाई आत्मसात गर्ने, मदन भण्डारीको त्यो प्रवृतिबाट सिक्ने र त्यसलाई समातेर अगाडि बढ्ने सङ्कल्पको प्रतिबद्धताकै परिणाम अाजकाे सफलता रहेकाे धारणा राख्नुभयाे ।

उहाँले अगाडि भन्नुभयाे, ‘अब यो पार्टीलाई सुदृढ गर्ने र सरकारलाई सफल पार्ने कुरामा र जनआकांक्षालाई सम्बोधन गर्ने कुरामा असफल भयौं भने हामी दुईटा नेताको वा पार्टीको मात्र असफलता हुनेवाला छैन, कम्युनिष्ट आन्दोलन फेरि यही रूपमा उठ्न सायदै सम्भव हुन्छ । यो (राजनीतिक) प्रणाली नै जानेवाला छ र देशको एकता पनि खतरामा पर्ने वाला छ ।’

कात्तिक ९, २०८१ शुक्रबार ८:१८:४५