मेरो आशा युवा विद्यार्थीहरुसँगै छ, ‘प्रधानमन्त्री’

कार्तिक २४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आशा युवा विद्यार्थीहरुसँग भएको बताउनु भएको छ ।
बुधबार ने.क.पा. (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘युवा भनेका समाजका उर्जाशील शक्ति हुन् । उनीहरुमा सोच्ने गतिशीलता हुन्छ । मेरो आशा तपाईहरुसँगै छ । तपाईहरु जनता, सर्वहारा वर्ग र देशको पक्षमा दृढतापूर्वक अगाडि बढ्नुहोस् ।’
कार्यक्रममा प्रधानमन्त्रीले देशको पक्षमा काम गर्दा विभिन्न कुप्रचारको शिकार हुनुपरेको अनुभव सुनाउँदै भन्नुभयो, ‘सरकार देशको पक्षमा काम गर्दैछ, जनताको पक्षमा काम गर्दैछ । हिमाल, पहाड र तराई मिलाएर संविधान कार्यान्वयन गर्ने संकल्प गर्दैछ । आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय एकता हासिल गर्न अगाडि बढ्दैछ । तर, एउटा वर्ग सरकारका कामबाट आत्तिएर कुप्रचारतिर लागेको छ, त्यसको तपाईहरुले खुलेर प्रतिवाद गर्नुस् । यथार्थ के हो, त्यो जनतालाई भन्नुस् ।’
सरकारले गरीबका पक्षमा काम गरिरहेको भन्दै प्रधानमन्त्रीले थप्नुभयो, ‘हामी गरीबका लागि सरकार कार्यक्रमलाई रणनीतिक महत्वको कार्यक्रमसहित देशव्यापी बनाउँदै छौं । युवाहरुलाई रोजगारी र नभए बेरोजगार भत्ताको तयारी गर्दैछौं, जनता पेन्सन कार्यक्रमको तयारी गर्दैछौं, लोडसेडिङ अन्त्य गर्ने, राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न उत्प्रेरित गर्ने र विकास खर्च बढाउने गरी काम गरिरहेका छौं । जनताको पक्षमा गरिएका कामहरुको सकारात्मक रुपमा सन्देश प्रवाह गर्नुहोस् ।’
कार्यक्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, हितमान शाक्य लगायतले देश र जनताका पक्षमा सरकारले गरेका राम्रा कामहरुको सकारात्मक प्रचारमा कमि भएको भन्दै त्यसलाई गाउँ–गाउँसम्म सन्देश प्रवाह गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

_DSC2033

कात्तिक ६, २०८१ बुधबार ५:७:५६