मेलम्ची–हेलम्बु बाढी पीडित राजधानीमा, अध्यक्ष प्रचण्डसँग भेट (भिडियाे)

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिको बारेमा एक प्रतिनिधि मण्डलले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी ध्यानाकर्षण गराएको छ ।

सिन्धुपाल्चोक जिल्लाका सबै दलहरुका प्रतिनिधि सम्मिलित उक्त सर्वदलीय मण्डलले बाढीपहिरोमा भएको क्षति र तत्कालका लागि आवश्यक पूर्वाधारका बारेमा अध्यक्ष प्रचण्डलाई ध्यानाकर्षण गराएको थियो । अध्यक्ष प्रचण्डले आफू र आफ्नो पार्टीको तर्फबाट तत्परता र गम्भीरताका साथ प्रतिनिधि मण्डलले उठाएका विषयमा छलफल अगाडि बढाउने बताउनुभयो । अध्यक्षले मेलम्ची र हेलम्बुका बाढी पीडितका समस्या समाधानका लागि सरकारलाई घच्घचाउने विश्वास पनि दिलाउनुभयो ।

अध्यक्षले भन्नुभयो, ‘ देशमा बढेको प्राकृतिक प्रकोपहरुको सम्बन्ध विश्वव्यापी रुपमा विकासको मोडलमा खोज्नु पर्ने भएको छ । हामीले पनि आफ्नो आन्तरिक अध्ययन र त्यसअनुसारको व्यवस्थापन गर्न जरुरी छ । तर यो समस्या हाम्रो मात्रै होइन ।’

विश्वव्यापी समस्याका रुपमा देखापरेको बाढीपहिरो, आँधी लगायतका प्राकृतिक समस्याहरुको कारण खोज्नु पर्ने उहाँको धारणा थियो । अध्यक्षले भन्नुभयो, ‘हिमालयको काखमा रहेको नेपालमा बढ्दै गइरहेका यसप्रकारका प्राकृतिक प्रकोपका कुराहरु विश्वका फोरमहरुमा पनि उठाउन जरुरी छ ।’

नेपालमा भैरहेका प्राकृतिक विपत्तिमा नेपाल देशकाे मात्रै समस्या नभएकाे भन्दै यसका लागि अन्तर्राष्ट्रिय क्षेत्रकाे ध्यानाकर्षण गराउने र साधनस्रोत जुटाउने कुरा पनि धेरै महत्वपूर्ण रहेकाे उहाँको भनाई थियो ।

कात्तिक ६, २०८१ बुधबार ३:३३:१३