मैले नयाँ कुरा गरेकाे होइन, पहिल्यै आएको कुरा बोलेको छुः अध्यक्ष प्रचण्ड

माेरङ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्र विगतको सहमति कार्यान्वयन गरेर अगाडी बढ्ने बताउनु भएकाे छ। विराटनगर विमानस्थलमा पत्रकारसंग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले सैद्धान्तिक र व्यवहारिक प्रतिवद्धता अनुसार पार्टी अगाडी बढ्ने बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘ मैले नयाँ कुरा गरेकाे होइन, पहिल्यै आएको कुरा बोलेको छु । पहिलो पटक बोलेको पनि होइन । विगतको सहमति कार्यान्वयन गरिन्छ ।’

सरकार परिवर्तन हुने वा नहुने भन्ने पत्रकारको जिज्ञासामा अध्यक्ष प्रचण्डले विगतको सैद्धान्तिक र व्यवहारिक प्रतिवद्धता अनुसार पार्टी अगाडी बढ्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘सैद्धान्तिक र व्यवहारिक प्रतिवद्धता अनुसार हामी अगाडी बढ्छौं । म पार्टीका नेता कार्यकर्ता, समर्थक र शुभचिन्तकलाई अनावश्यक बहसको विषय नबनाउन आग्रह गर्छु । अनावश्यक धु्रविकरण गर्न जरुरी छैन ।’

आफूले विगतमा भएको सहमतिको स्मरण गर्दा ठूलो प्रचार भएको भन्दै अध्यक्षले भन्नुभयाे,  ‘पार्टी एकताका बेला भएका सहमतिलाई स्मरण गरेको छु । प्रचार गर्नुपर्ने विषय बोलेको छैन् । केहीले प्रचार गर्ने, हल्ला गर्ने विषय बोलेको छैन् । मेरो कुरा प्रधानमन्त्री एवं पार्टी अध्यक्षले राम्रोसंग बुझ्नु भएको छ ।’

फरक प्रसंगमा प्रचण्डले भारतमा जुनसुकै व्यक्ति विदेश मन्त्री भएपनि त्यसले कुनै असर नगर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे,  ‘भारतले नाकाबन्दीपछि राम्रोसंग बुझेको छ, भारतले पनि शिक्षा लिइसकेको छ । प्रधानमन्त्री मोदीले पनि शिक्षा लिइसक्नु भएको छ । विदेशमन्त्री को भयो भन्ने कुराले नेपालमा खासै अर्थ राख्दैन् । नेपालले पनि सम्बन्ध राम्रो बनाउनु पर्छ ।’

उहाँले पार्टीलाई एक ढिक्का र सुदृढ बनाउने कार्यमा दुबै अध्यक्ष लागिरहेकाले नेता, कार्यकर्ता, शुभेच्छुक र जनतामा अनावश्यक रुपमा विभाजित नहुन आग्रह गर्नुभयो । उहाँले पार्टी एकता सैद्धान्तिक र व्यवहारिक भएको बताउँदै यसबाट पार्टी अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

कात्तिक ८, २०८१ बिहीबार १२:१२:५४